जनता टाइम्स

१९ असार २०७६, बिहीबार ०६:५४

सामाजिक सञ्जालबाटै बन्यो आमा सावित्रीको हत्या योजना, यसरी झिकाइयो कन्ट्र्याक्ट किलर


भक्तपुर, असार १९

चाँगुनारायण नगरपालिका–७ बाँसबारी खरिपाटी विद्युत् तालिम केन्द्रपछाडि छोरीज्वाइँ सोनाम थापा मगरको घरमा बस्दै आएकी ६० वर्षीया सावित्री भट्टराईको हत्या आरोपमा पक्राउ परेका चारैजनालाई जिल्ला अदालत भक्तपुरले थुनामा राख्ने ओदश दिएको छ। साबित्रीको हत्यामा आरोपित उनकी छोरी २७ वर्षीया ईश्वरी, ईश्वरीका प्रेमी सिरहा कल्याणपुर नगरपालिका–४ भर भई भक्तपुर पुरानो ठिमीमा बस्दै आएका २४ वर्षीय मोहम्मद नौसाद, अर्जुनकुमार भनिने भोलाकुमार र मोहम्मद रहिसको म्याद थप गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

थप बयान तथा अनुसन्धानका लागि म्याद थपिएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ बाँडेगाउँ घर भएकी ६० वर्षीया सावित्री भक्तपुर, खरिपाटीस्थित छोरीज्वाइँको घरमा बस्दै आएकी थिइन्। उहाँको आइतबार बिहान साढे १० बजेतिर हत्या भएको थियो। मोटरसाइकलमा आएका तीनजना सावित्रीको घाँटी रेटेर हत्या गरी फरार भएका थिए।

प्रहरीले फरार तीनैजना र छोरीसहित चारजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। छोरी ईश्वरीकै योजनाअनुसार हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। आरोपित ईश्वरी विवाहित हुन्। उनका पति सोनाम थापा काठमाडौंको सिनामंगलमा होटल व्यवसाय गर्छन्। उनीहरुको एउटा छोरा छ। तर श्रीमती परपुरुषसँग सम्बन्धमा रहेका कारण पतिपत्नीबीच सम्बन्ध राम्रो थिएन। पति खासै घर आउने गरेका थिएनन्।

केही वर्षअघि गार्मेन्टमा काम गर्ने क्रममा ईश्वरीको मोहम्मद नौसादसँग प्रेम भएको थियो। नौसादसँगको सम्बन्ध थाहा पाएपछि आमा सावित्रीले आफ्नो घरपरिवार बिगारेर अर्कै युवाको पछि नलाग्न छोरीलाई चेतावनी दिँदै आएकी थिइन्। छोरीको अवैध सम्बन्ध आमा सावित्रीले थाहा पाएपछि उनले नौसादलाई एक लाख रुपैयाँ दिएर युएई पठाइदिएकी थिइन्। तर ईश्वरी र नौसादबीच सामाजिक सञ्जालमा गफगाफ मात्रै भएन आमाको हत्या गर्ने योजनासम्म बनेको प्रहरी अनुसन्धानबाट देखिएको छ।

जेठमा युएई गएका नौसाद असार १० गते फर्किए। त्यसपछि उनी १२ गते भारत गए। अर्जुनकुमार भनिने भोलाकुमार र मोहम्मद रहिसलाई लिएर १४ गते नेपाल आए। अर्जुनकुमार भनिने भोला र मोहम्मद रहिसलाई लिएर नौसाद १५ गते बिहान ईश्वरीको घर पुगे। योजना अनुसार ईश्वरी दिदीको घरमा गएको मौका पारेर उनीहरुले सावित्रीको हत्या गरे। प्रहरी अनुसन्धानको क्रममा अर्जुनकुमार र रहिस कन्ट्र्याक्ट किलर भएको खुलेको छ।