जनता टाइम्स

१९ असार २०७६, बिहीबार १६:२२

सिरहा नगरपालिकामा भइरहेको अनियमितता विरुद्ध विरोध र्याली, बुझाए ज्ञापन पत्र


सिरहा, असार १९

सिरहा नगरपालिकको अनियमितता विरुद्धमा बुधबार नेपाली कांग्रेस नगर कार्य समिति सिरहाले विरोध र्याली सहित सिरहा नगरपालिका र जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत सम्मानीय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार, काठमाडौंको लागि ज्ञापन पत्र बुझाईको छ ।

असार १० गतेका दिन नगरसभाको खाली रजिष्टरमा नगरसभाका सदस्यहरुलाई दस्तखत गराएको, विषयगत समितिहरुको बैठक न बसाएको, विगत आर्थिक वर्ष र चालु आर्थिक वर्षका नगर स्तरिय योजनामा अनियमितता भएको, राजस्व संकलन तथा खर्च अपारदर्शि राखेको, वार्डले गठन गर्नुपर्ने उपभोक्ता समिति नगरपालिकामा नै गठन गरेको, आर्थिक वर्ष ०७५ को स्वीकृत योजनाहरुको गोप्यरुपमा संशोधन गरी हिनामिना गरेको, उपभोक्ता समितिको रकम निकाशा माँगमा कमिशन मागेको जस्ता माँगहरुलाई छानविन गरी कारवाही प्रकृया अगाडी बढाउन माग गर्दै प्रधानमन्त्रीलाई बुझाउने गरि नेपाली कांग्रेस नगर कार्य समितिले बुझाएको ज्ञापनपत्रमा जनाइएको छ ।

त्यस्तै सरकारी रकम व्यक्तिको नाममा वितरण गरेको कमिशनको भरमा कोटेशनमा दिने काम गरेको, विषयगत समितिहरुको बैठक पारदर्शी गर्नु पर्ने, ढल निकाशको योजना कार्यान्यवन गर्न, लाखौ रुपैया खर्च गरी लगाएका वेभ साइड अपडेट गरी सार्वजानिक गर्नुपर्ने, वार्ड समितिको अधिकार कुन्ठीत गरी नगर प्रमुखले गठन गरेको उपभोक्ता समिति खारेज गर्नुपर्ने, नागरिकता सिफारिस निःशुल्क सिफारिस हुनु पर्ने, सूचना अधिकारीको चयन गर्नु पर्ने, नगरवासी माथि कर लगाउने काम बन्द गर्नु पर्ने जस्ता माँग राखी नेपाली काँगे्रस नगर कार्य समिति सिरहाले नगर प्रमुखलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

उक्त मागहरुको लागि जिल्ला समन्वय समितिको कार्यालय सिरहाबाट निस्केको विरोध र्याली बजारको परिक्रमा गदै कांग्रेस नेता तथा कार्यकर्ताहरु सिरहा नगरपालिकाको कार्यालय पुगेका थिए । तर कार्यालयमा मेयर अशेश्वरप्रसाद यादव, उपमेयर डा. नमिता यादव र प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई उपस्थित थिएनन् । बाध्य भएर कांग्रेसले अधिकृत सुबोध लामालाई ज्ञापनपत्र बुझाए । यस्तै कांग्रेसले प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी मार्फत प्रधानमन्त्रीलाई नगरपालिकामा भइरहेको अनियमितताविरुद्ध ज्ञापन पत्र बुझाएको छ ।