जनता टाइम्स

२० असार २०७६, शुक्रबार ११:४२

बढ्दैछ मानविय क्रुरता : २५ लाखको लोभमा ४ बर्षीया छोरीकै हत्या


रौतहट, असार २०

मानिसमा पछिल्लो समय क्रुरता बढ्दै जान थालेको छ । कसैले प्रेम त कसैले पैसाका लागि आफन्तकै हत्या गर्ने बढ्दो छ । यसैक्रममा रौतहटमा एक व्यक्तिले आफ्नै ४ वर्षिया छोरीको हत्या गरेको खुलेको छ ।

बिमाको २५ लाख रुपैयाँ पाउने आशामा ४ वर्षीया नाबालिका छोरीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले गत १६ गते ४ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचेर हत्या गरेको प्रहरीले बताएको छ । उनले हत्या गरेपछि पोखरीमा फालेको अवस्थामा १७ गते विहान शव फेला परेका थियो । जिल्ला प्रहरी कार्यालय रौतहटमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा रौतहट प्रहरीका डिएसपी तथा प्रवक्ता नविन कार्कीले बिमाको रकम हात पार्नको लागि नवालिक छोरीको निर्ममतापूर्वक हत्या गरेको बताउनु भयो । नाबालिका लक्ष्मीको शव फेला परेपछि प्रहरी अनुसन्धान गर्दै जाँदा रामकिशोरले विमाको ठूलो रकम हात पर्न आफनै कान्छी छोरीको निर्ममतापूर्वक हत्या गरिएको रहस्य खुलेको थियो ।

रौतहटको गरुडामा रहेको प्रभु बैंकमा २५ लाखको कान्छि छोरीको नामबाट विमा गराएको २९ औं दिनमा हत्या गरेको बुझिएको छ। आर्थिक अवस्था कमजोर भएको हुँदा पैसा कमाउने दाउमा बाबुद्वारा छोरी हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको उहाले बताउनु भयो । बिमा बापतको पहिलो किस्ता करिब पौने २ लाख उनले बैंकलाई बुझाइसकेका थिए। यो बीचमा उनलाई कसैले सुनाई दियो बिमा गरेको एक महिनामै यदि बिमकको निधन भएका डबल (दुई गुणा) रुपैयाँ फिर्ता पाइन्छ। उनलाई छोटो समयमै धेरै पैसा कमाउने लोभ लाग्यो। कसैले भनेको यही कुरा छोरीको हत्याको कारण बन्यो।