जनता टाइम्स

२१ असार २०७६, शनिबार ०९:००

सुत्केरी भेटन घिउ र कुखुरा लिएर पुग्छन् गाउँपालिका अध्यक्ष


पर्वत, असार २१

महाशिला गाउँपालिकाले ‘अध्यक्ष कोसेली कार्यक्रम’ सुरु गरेको छ । स्वास्थ्य संस्थामा पुगेर सुरक्षित सुत्केरी गराउन महिलालाई प्रोत्साहन गर्न घरघरमै पुगेर सुत्केरी भेट्न ‘अध्यक्ष कोसेली कार्यक्रम’ सुरु गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले जानकारी दिनुभयो ।

यो कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका कुनै पनि महिला स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माएमा गाउँपालिकाका प्रमुख राजु पौडेलले ती महिलाका लागि उपहार बोकेर भेटघाटका लागि जानेछन् । ‘हाम्रो पालिकामा रहेका स्वास्थ्य संस्थाहरूमा सुरक्षित बच्चा जन्माउने व्यवस्था छ, गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिसकिएको छ।’ गाउँपालिकाका प्रमुख पौडेलले भन्नुभयो, ‘पालिकाभित्रका सबै महिलाहरू स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुने गरेका कारण गाउँपालिका ‘जिरो होम डेलिभरी’को अवस्थामा छ। ‘अब घरमा सुत्केरी गराउने मानसिकता नै नबसोस भनेर प्रोत्साहनको कार्यक्रम स्वरूप यो अभियान सुरु गरेका हौँ’, प्रवक्ता उचैले भन्नुभयो । पौडेल तत्कालिन नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

कार्यक्रम अन्तरगत स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माउने एक आमालाई दुई हजार रुपैयाँ बराबरको घिउ र कुखुरा प्रदान गरिने छ। गाउँपालिकाका प्रवक्ता उचैका अनुसार केही वर्ष अघि सम्म घरमै सुत्केरी हुने र स्वास्थ्यकर्मीलाई समेत घरमै बोलाउने चलन रहेको थियो। गाउँपालिकामा जनप्रतिनिधि आउनुपुर्ब लुंखु प्राथमिक स्वास्थ्य केन्द्र र होर्साङ्दी स्वास्थ्य चौकीमा मात्रै बर्थिङ सेन्टरहरू रहेका थिए। जनप्रतिनिधि आएपछि अन्य चार वडामा पनि गाउँपालिकाले नै बर्थिङ सेन्टर स्थापना गरिसकेको छ। गाउँपालिकाभित्र वार्षिक सरदर ८० जना सुत्केरी हुने गरेको र ती सबै बच्चाहरू स्वास्थ्य संस्थामा नै जन्मिने गरेको गाउँपालिकाको तथ्याङ्क छ।

महाशीलाले बच्चा स्वास्थ्य संस्थामा जन्मेको हो भन्ने प्रमाणित कागज अर्थात बर्थ सर्टिफिकेट र नियमित रूपमा गर्भ जाँच गरेको सिफारिस नभए सम्म बालबालिकाको जन्म दर्ता समेत नगर्ने निर्णय गरेको छ। जन्म दर्ता गर्नका लागि स्वास्थ्य संस्थाको बर्थ सर्टिफिकेट र सिफारिस लिने काम अनिवार्य गर्दा घरमा सुत्केरी हुने चलन क्रम रोकिने प्रवक्ता उचैले बताउनु भयो ।