जनता टाइम्स

२२ असार २०७६, आईतवार ०९:११

द्वन्द्वकालको फाइदा उठाउदै भुमाफिया : कागजात जलेपछि सरकारी जग्गा व्यक्तिको नाममा


सर्लाही, असार २२

सरकारको नाममा रहेको ऐलानी जग्गा व्यक्तिका नाममा गराई खरिदबिक्री भएको पाइएको छ । माओवादी द्वन्द्वकालमा मालपोत तथा भूमिसुधार कार्यालयका सबै कागजात जलेपछि भूमाफियाले त्यसैको फाइदा उठाउँदै सरकारी जग्गासमेत व्यक्तिको नाममा गराई किनबेच गरिरहेको भेटिएको हो ।

बरहथवा नगरपालिका–४ हजारियाको सरकारी जग्गाको व्यक्तिका नाममा लालपुर्जा बनेको छ । मालपोत कार्यालयको कम्प्युटरमा सरकारी प्लट कायम रहेको साविक हजरिया गाविस ७ मा ७ बिघा १४ कट्ठा १५ धुरमध्ये ६ बिघा १४ कट्ठा जमिन स्थानीय जागदेव महतोका नाममा लालपुर्जा बनेको फेला परेको हो ।

बरहथवा नगरपालिका ४ को कार्यालयको सिफारिससहित महतो ३२८ नम्बर कित्ताको ५ बिघा १० कट्ठा जग्गामध्ये स्थानीय कान्ति देवीलाई ३ बिघा ११ कट्ठा तथा ३१४ नम्बर कित्ताको १ बिघा ४ कट्ठा जग्गामध्ये १ बिघा ३ कट्ठा आफ्नै छोरी आनन्दी देवीलाई बिक्री गर्ने लिखतसहित गत बिहीबार मालपोत कार्यालय बरहथवा पुगेका थिए । सरकारी जग्गा व्यक्तिले खरिदबिक्री गर्न आएपछि यसअघि नै व्यक्तिका नाममा लालपुर्जा बनिसकेको रहस्य खुलेको कार्यालयका प्रमुख विन्देश्वर महतोले बताए । कैफियत महलमा शंका लागेपछि जग्गा पास गर्न रोकेको उनले जानकारी दिए । ‘सरकारी जग्गा व्यक्तिले लालपुर्जा बनाएर बिक्री गर्न ल्याएको थियो,’ उनले भने, ‘मलाई शंका लागेपछि जग्गा पास गर्न दिइनँ,’ उनले भने, ‘पछि बुझ्दै जाँदा द्वन्द्वकालमा मालपोत तथा भूमिसुधारको कागजात जलेपछि भूमाफियाले सरकारी जग्गा व्यक्तिका नाममा बनाएका रहेछन् ।’

जागदेव महतोका नाममा रहेको लालपुर्जाको कैफियत महलमा २०६२ साल कात्तिक १९ गतेको निर्णयले वडा नम्बर ७ को कित्ता नम्बर ३१४ र ३२८ को स्रेस्ता कायम गरिएको उल्लेख छ । २०६२ साल चैत २३ गते माओवादी आक्रमणमा मालपोत तथा भूमिसुधार कार्यालयको कागजात जलेपछि त्यसअगाडिकै मितिमा भूमाफियाहरूको मिलेमतोमा कार्यालयका कर्मचारीले सो जग्गा व्यक्तिका नाममा गरेको स्थानीयको भनाइ छ । २०१८ सालदेखि आफूले जोतभोग गरिरहेको सरकारी जग्गा व्यक्तिका नाममा आएपछि स्थानीय चिन्तित छन् । किर्ते गरेर बनाइएको लालपुर्जा खारेजी गरी जोतभोगमा रहेकाका नाममा ल्याउनुपर्ने उनीहरूको माग छ । हजरियाका स्थानीयले आइतबारदेखि भूमाफिया र कार्यालयका कर्मचारीविरुद्ध नाराबाजी, ज्ञापनपत्र दिनेजस्ता विभिन्न आन्दोलनको कार्यक्रम गर्दै आएका छन् । आफ्ना समस्या समाधान नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने स्थानीयले चेतावनी दिएका छन् ।

‘हामीले २०१८ सालदेखि सरकारी जग्गा जोतभोग गर्दै आएका छौं,’ उनले भने, ‘तर भूमाफियाहरूले हामीले जोतभोग गरेको जग्गा आफ्ना नाममा गराएका छन्,’ स्थानीय हरिबहादुर कार्कीले भने, हामीले जोतभोग गर्दै आएको जग्गा हाम्रै नाममा हुनुपर्छ, भूमाफियाका नाममा रहेको जग्गा खारेज नभए हामी चरणबद्ध आन्दोलनमा जान्छौं ।’ (कान्तिपुर)