जनता टाइम्स

२२ असार २०७६, आईतवार १०:५१

भोटेकोशीमा बाढीले बगाएर बेपत्ता दुई जनाको खोजी जारी


सिन्धुपाल्चोक, असार २२

भोटेकोशी बाढीमा बेपत्ता दुईको खोजी कार्य जारी रहेको छ। घाइते दुईजनालाई सिम्रिक एयरको हेलिकप्टरबाट उपचारको लागि काठमाडौं लगिएको छ।

भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधीन शिवश्री जलविद्युत्‌मा कार्यरत सुनसरीका यादवप्रसाद काफ्ले र लाफिङ्ग बुद्ध हाइड्रो पावरका कर्मचारी बाराका रामऔतार चौधरीलाई भेलले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिनुभयो । बाढीले भोटेकाशीमा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी, ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशीसँगै चाकुखोला जलविद्युत् आयोजना र शिवश्री हाइड्रोपावरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। बाढीले आसपासको सटर र घरहरूमा समेत क्षति भएको जनाएको छ। भोटेकोशी बाढीले सीमाक्षेत्रमा निरन्तर विपत्ति निम्त्याने गरेको छ। गत साल आएको भोटेकोशी बाढीले सयौं परिवार विस्थापित भएका थिए।

यसैविच, शनिबार बेलुकी अविरल वर्षात्‌ले उर्लिएको हृयाङ्ले खोलाले भोटेकोसी गाउँपालिकाको मार्मिङ चाकुमा एक घर र साँघु बगाएको छ । बाढीले कोदारी राजमार्गछेउको चाकु हृयाङ्लेगाउँस्थित घर, चाकु बजार वारपार गर्ने पुल एकैपटकमा बगाएको हो ।