जनता टाइम्स

२२ असार २०७६, आईतवार १२:३०

सिन्धुुपाल्चोक भेल : घाइते दुईको हेलिकप्टरबाट उद्धार, दुई बेपत्ता


सिन्धुपाल्चोक, असार २२

भेलले बगाएर भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा दुई आयोजनाका दुई जना कर्मचारी बेपत्ता बनाएको छ । भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधीन शिवश्री जलविद्युत्‌मा कार्यरत सुनसरीका यादवप्रसाद काफ्ले र लाफिङ्ग बुद्ध हाइड्रो पावरका कर्मचारी बाराका रामऔतार चौधरीलाई भेलले बगाएर बेपत्ता बनाएको हो ।

‘दुई जना सख्त घाइतेको हेलिकप्टरबाट उद्धार गरेर राजधानी लगिएको छ, हराएकाको खोजी तीव्र रुपमा भइरहेको छ,’ घटनास्थलमा खटिएका इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले भन्नुभयो । चाकु, दसकिलोदेखि फुल्पिङकट्टीसम्म भएको सम्पूर्ण विवरण खोजीरहेको उहाँले जनाउनुभयो ।

भोटेकोसीकै मार्मिङगाउँको उर्लिएको हृयाङ्ले खोलाले चाकुमा एउटा घर र साँघु पुल बगाएपछि भागभाग मच्चिएको थियो । बाढीले कोदारी राजमार्गछेउको चाकु हृयाङ्लेगाउँस्थित घर, चाकु बजार वारपार गर्ने पुल एकैपटकमा बगाएको थियो । तटीय क्षेत्रमा रहेका सीमाक्षेत्र लिपिङ, तातोपानी, कोदारी, दसकिलो, चाकुदेखि जम्बु,बाह्रबिसे,खाडीचौरसम्मका स्थानीय त्रसित छन् ।

तटीय क्षेत्रमा हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै सबैलाई सुरक्षा सर्तकता अपनाउन सूचना दिइएको उहाँले बताउनुभयो । शनिबार बेलुकी अविरल वर्षात्‌ले उर्लिएको हृयाङ्ले खोलाले भोटेकोसी गाउँपालिकाको मार्मिङ चाकुमा एक घर र साँघु बगाएको छ । बाढीले कोदारी राजमार्गछेउको चाकु हृयाङ्लेगाउँस्थित घर, चाकु बजार वारपार गर्ने पुल एकैपटकमा बगाएको हो ।

भोटेकोसी गाउँपालिका मार्मिङ चाकु बजारको बिना श्रेष्ठले हृयाङ्ले खोला बढेपछि साँघु पुल, घर वरिपरिको संरचना ध्वस्त बनाएको र भोटेकोसी बाढीले तटीय क्षेत्रको घरमा क्षति पुर्‍याएपछि आफूहरुको भागाभाग भएको बताउनुभयो । ‘कोसी तटिय क्षेत्रमा सबैतिर त्रास फैलिएको छ, के गर्ने नगर्नेमा पुगेका छौं,’ उहाँले भन्नुभयो ।

मध्य भोटेकोसी जलविद्युत् आयोजनास्थलको हेर्डवक्सस्थल, टावर, एक्जाभेटर, टिप्पपर जस्ता साधन, माथिल्लो भोटेकोसीको बाधस्थल संरचनादेखि शिवश्री हाइड्रो पावर, चाकु हाइड्रो अधिकांश संरचना बाढीले ध्वस्त तुल्याएको छ। ‘चाकु, दसकिलोदेखि सीमावर्ती क्षेत्रसम्म बाढीको त्राहीमाम मच्चिएको छ, बर्खाले गर्दा कतिपय सामग्री बाँधेर राजधानी फर्किने भएका छन्,’ स्थानीय होमनाथ ढकालले भन्नुभयो ।

उहाँका अनुसार अघिल्लो बर्खामा भोटेकोसीको बाढीको मच्चाएको वितण्डा सम्झेर स्थानीय दैव भरोसामा बाँचिरहेका छन् । ०७१ जुरेपहिरो, ०७२ भूकम्प,२०७३ असार २१ भोटेकोसी बाढीदेखि बर्खैपिच्छै पहिरोको त्रासमा जिल्लावासी छन्। ‘कोसी तटीयक्षेत्रमा बर्खामा के हुने हो भनेर तयार रहनुपर्छ, यो समस्या कहिले नबदलिने भयो,’ भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले भन्नुभयो । उक्त क्षेत्रमा हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै सबैलाई सुरक्षा सर्तकता अपनाउन सूचना समेत दिइएको छ ।