जनता टाइम्स

२२ असार २०७६, आईतवार १३:४४

प्रहरीको सानो भूल वा लापरवाही राष्ट्रका लागि निकै प्रत्युत्पादक हुन्छ : गृहमन्त्री थापा


चितवन, माघ २२

गृहमन्त्री रामबहादुर थापाले राज्य पुनःसंरचनाको अवस्थामा सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्याउनसक्ने सम्भावना रहेकाले प्रहरी संयन्त्रले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रूपमा कारवाही गर्नुपर्ने बताउनु भएको छ ।

जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रहरी सहायक निरीक्षक आधारभूत तालीम १७५औँ समूहको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री थापाले सो जानकारी दिनुभएको हो । ‘विभिन्न आपराधिक, विखण्डनकारी तथा वर्तमान राज्य प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहमाथि सूक्ष्म विश्लेषण गरी कारवाही गर्न प्रहरी संयन्त्रले कुनै कसर बाँकी राख्ने छैन भन्नेमा म विश्वस्त छु,’ गृहमन्त्री थापाले भन्नुभयो ।

दीक्षित भई जाने प्रहरीको काँधमा कानूनी राज्य अनि सामाजिक न्याय सुनिश्चित गर्ने गहन जिम्मेवारी रहेको उहाँले बताउनु भयो । ‘यो जिम्मेवारी वहनका क्रममा हुने सानो भूल वा लापरवाही सिङ्गो प्रहरी संगठन, सरकार र राष्ट्रका लागि प्रत्युत्पादक हुनसक्छ,’ गृहमन्त्री थापाले भन्नुभयो । प्रहरी कुनै पनि घटनाको पहिलो साँक्षी अनुसन्धानकर्ता र न्यायाधीश भएको भन्दै थापाले प्रहरीले गरेका हरेक क्रियाकलापले पीडितले न्याय पाउने सुनिश्चितता हुने र कुनै लापरवाही गरेमा अभियुक्तले छुट पाउन जाने अवस्था हुने बताउनुभयो ।

देशको अवको गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको भन्दै उहाँले व्यावसायिक जीवनमा आइपर्ने चुनौतीलाई आफ्नो इमान्दारी, निष्पक्षता र व्यावसायिक कौशल र युक्ति लगाएर परास्त गर्न निर्देशन दिनुभयो । महिला, दलित एवं समाजका सीमान्तकृत समुदायप्रति हुने गरेका गैरमानवीय व्यवहारको घटना सुन्दा आफूलाई पीडाबोध हुने गरेको भन्दै उहाँले यस्ता कार्यलाई समाजबाट निरुत्साहित गर्न र पीडकलाई दण्डित गर्न दीक्षित भई जाने प्रहरीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यस्ता अमानवीय क्रियाकलापलाई समाजमा उन्मुक्ति नदिने प्रतिबद्धताका साथ परिचालन हुन निर्देशन गर्दछु ।’