जनता टाइम्स

२३ असार २०७६, सोमबार ०८:३३

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु


अछाम, असार २३ ।   अछाममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । कमलबजार नगरपालिका–६ मा आइतबार साँझ स्थानीय नरजित जनालाका १८ वर्षीय छोरा विकाश जनालाको करेन्ट लागेर ज्यान गएको हो ।

रोपाइँ सकेर घर आउने क्रममा विद्युतको पोल नजिक गोरु ढलेपछि के भयो भनेर त्यहाँ गएका विकाश एक्कासी ढलेको घटनाका प्रत्यक्षदर्शी विकाशका काका धनबहादुर जनालाले बताउनुभयो ।

विद्युतको पोल नजिक बगिरहेको पानीमा बिजुली प्रवाह भएको र विकाशलाई करेन्ट लागेको अनुमान गरिएको छ । करेन्ट लागेपछि आगोसमेत सल्केको र विकाशको दुबै खुट्टा जलेको धनबहादुरले बताउनुभयो ।

घटनाबारे जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बिजुलीको पोलमा राखिएको इन्सुलेटर भाँचिएर करेन्ट फैलिएको प्रहरीले जानकारी दिएको छ ।