जनता टाइम्स

२३ असार २०७६, सोमबार ०९:१०

तेस्रो बिहे गर्दै कांग्रेस नेता एंव पूर्वमन्त्री कार्की


काठमाडौं, असार २३

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्नुहुने भएको छ । उहाले आइतवार राजधानीमा टिकोटालो समेत गर्नुभएको छ ।

६२ वर्षीय कार्कीका यसअघिका दुई श्रीमतिको निधन भएपछि उहाले उत्सव सम्शेर राणाकी नातिनीसँग बिहे गर्न लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ । यद्यपि बधुको नाम भने खुलाउन मानेनन् । दिनभरी पार्टीको कार्यक्रममा व्यस्त रहनु भएका कार्कीले आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गर्नुभएको थियो । टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यहरुमात्र बोलाएपनि फोटो सार्वजनिक भएपछि विवाहको रहस्य खुलेको थियो । पारिवारिक स्रोतले विवाहको मिति पनि सार्वजनिक गर्न मानेन् । गोप्यरुपमा विवाह गर्ने तयारी रहेकाले मिति सार्वजनिक नगरिएको बताइएको छ ।

कार्कीले पहिलो बिहे पछाइँ परिवारकी छोरीसँग र दोस्रो बिहे राणा परिवारकी छोरीसँग गर्नुभएको थियो । दोस्रो श्रीमती आवु राणाको क्यान्सरको कारण करिब २ वर्षअघि निधन भएको थियो । हाल कार्कीसँग जेठी श्रीमतीबाट एक छोरी छिन् । भोजपुरको देउराली स्थायी ठेगाना भएका कार्की हाल काठमाडौंको हात्तीगौंडामा बस्दै आउनु भएको छ । विगतमा अर्थ र जलस्रोत मन्त्री बन्नु भएका कार्की दोस्रो संविधानसभामा समानुपातिक सांसद हुनुहुन्थ्यो ।