जनता टाइम्स

४ चैत्र २०७८, शुक्रबार ०८:२७

अमेरिकाको मेरिल्याण्ड राज्यसभाबाट दशैं विधेयक बहुमतले पारित


बाल्टिमोर, चैत्र ४ । अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपालीहरुको महान चाड दशैंको उपलक्ष्यमा एक दिन दशैं डे मनाउने प्रस्ताव अघि बढेको छ । मेरिल्याण्ड राज्यसभामा नेपाली मुलका सांसद ह्यारी भण्डारीले प्रस्तुत गरेको विधेयक राज्यसभाको पूर्ण बैठकबाट मार्च १७ विहीबार पारित भएको छ ।

यसअघि सो विधेयक स्वास्थ्य तथा सरकार सञ्चालन समितिको बुधबारको बैठकमा बहुमतले पारित भएको थियो ।राज्यसभाका सांसद भण्डारीले जारी गरेको विज्ञप्तिअनुसार उहाँले प्रस्तुत गरेको सो विधेयक साझा प्रस्तावका रुपमा अघि बढेको छ । अर्थात् राज्यसभाका दलहरु डेमोक्र्याट र रिपब्लिकन दुवैका सांसदहरुले सो विधेयकलाई समर्थन गरेका छन् ।सांसद भण्डारीले हरेक बर्ष अक्टोवर ५ तारिकलाई नेपालीहरुको महान् पर्व दशैंका उपलक्ष्यमा सो चाड मनाउनका लागि राज्यभरका सबै निकायहरुमा सार्वजानिक विदा दिने प्रस्ताव विधेयकका रुपमा दर्ता गराउनुभएको थियो ।

अब यो विधेयक निर्णयार्थ राज्यसभाको पूर्ण बैठकमा पेश हुने र त्यहाँबाट पारित भएपछि राज्यको सिनेटमा प्रस्तुत हुने छ । यी दुवै ठाउबाट पारित भएपछि अक्टोवर ५ का दिन दशैं डे का रुपमा मेरिल्याण्ड राज्यमा आधिकारिकरुपमा मनाइने छ । राज्यको डिष्ट्रिक ८ बाट निर्वाचित भएका सांसद भण्डारीले आफूले प्रस्तुत गरेको सो विधेयक वाइपार्टिसन (दुवै दलको) समर्थनसहित अघि बढेकोमा खुसी लागेका बताउनुभयो ।

उहाँले जारी गरेको विज्ञप्तिमा भन्नुभएको छ, “यो विधेयक कानुन बनेमा मेरिल्याण्ड राज्यमा दशैं नेपालमा उत्पत्ति भएको एक सांस्कृतिक चाडका रुपमा मान्यता पाउने छ । र, हरेक बर्ष अक्टोवर ५ मा मेरिल्याण्ड राज्यले आधिकारिकरुपमा दशैं डे मनाउछ । यो उपलब्धी नेपाल र नेपालीले अमेरिकामा सामुहिकरुपमा हासिल गरेको अहिलेसम्मकै मनक उपलब्धी हुने छ । यसले अमेरिकाको नेपाली समुदायलाई ठूलो पहिचान मिल्नेछ जसको प्रत्यक्ष लाभ हाम्रो मातृभूमिलाई प्राप्त हुने छ ।” सांसद भण्डारीको पहिलो कार्यकालको चारबर्ष पूरा हुन लागेको छ । उहाँले दोस्रो कार्यकालका लागि पनि त्यही क्षेत्रबाट उम्मेद्वारी घोषणा गर्नुभएको छ । उहाँले मेरिल्याण्डको एउटा शहरमा आफू बसेको घरको अगाडि अनाहकमा गोली लागेर मारिएका नेपाली युवा सागर घिमिरेका नाममा पनि त्यस्ता घटना नदोहोरियुन भनेर नयाँ कानूनको प्रस्ताव गर्नुभएको छ ।

प्रेस विज्ञप्ती
मार्च १६, २०२२

अमेरिकाको मेरिल्याण्ड राज्यमा दशैलाई एक सांस्कृतिक चाडका रूपमा मान्यता दिलाउन गरिएको विधायिकी प्रयास निर्णायक मोडमा आइपुग्न लागेको सुनाउँन पाउँदा खुशी लागेको छ।

बुधबार साँझ मेरिल्याण्ड राज्यसभाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा विधेयक बहुमतले पारित भएर संसदको पूर्ण बैठकमा पठाउने निर्णय भएको छ। विधेयक दुबै दलका सांसदको भारी मत पाएर बाइपार्टिसन विधेयकका रूपमा पारित भएको हो। समितिमा आउनुअघि विधेयक सरकार सञ्चालन उपसमितिमा सर्वसम्मतिले पारित भएको थियो।

यो विधेयक कानून बन्न अझै केही खुड्किलाहरू बाँकि छन्। अब यो विधेयक संसदको पूर्ण बैठकमा जान्छ र त्यहाँ पारित भएमा यसले अर्को खड्को पार गर्ने छ। माथिल्लो सदन सिनेटमा क्रस फाइल भएको विधेयक त्यहाँ छलफल भएर पूर्ण बैठकको प्रक्रियामा छ। अब दुबै सदनको पूर्ण बैठकले पारित गरेपछि विधेयक गभर्नरकोमा जान्छ। र, गभर्नरले हस्ताक्षर गरेपछि विधेयक कानून बन्छ। कथमकदाचित गर्भनरले हस्ताक्षर नगरे पनि संसदको दुबै सदनमा भिटो प्रुभ्ड बहुमत रहेकाले यो विधेयक कानून बन्छ। अझ, गभर्नरले भिटो प्रहार गरे पनि अर्को संसद सत्रमा भिटो ओभराइड गर्ने संख्या डेमोक्रेटिक पार्टीसँग हुन्छ।

यो विधेयक कानुन बनेमा मेरिल्याण्ड राज्यमा दशै नेपालमा उत्पति भएको एक सांस्कृतिक चाडका रूपमा मान्य हुने छ। र, हरेक वर्ष अक्टोबर ५ मा मेरिल्याण्ड राज्यले आधिकारिक रूपमा ‘दशै डे’ मनाउँछ। यो उपलव्धी नेपाल र नेपालीले अमेरिकामा सामुहिक रूपमा हासिल गरेको अहिलेसम्मकै मानक उपलव्धी हुनेछ। यसले अमेरिकाको नेपाली समुदायलाई ठूलो पहिचान मिल्नेछ जसको प्रत्यक्ष लाभ हाम्रो मातृभूमिलाई प्राप्त हुनेछ।

मैले यो विधेयकलाई आजको विन्दुसम्म ल्याइपुर्याउन मेरो पहिलो कार्यकालको चार वर्ष नै ठूलो विधायिकी कसरत गरेको छु। एकपटक मात्र हैन, पटक पटक प्रायस गरेको छु। आप्रवासी त्यो पनि अत्यन्तै अल्पमतमा रेहको नेपालीको चाड दशैलाई सांस्कृतिक चाडका रूपमा प्रस्तुत गर्नु र त्यसलाई डेमोक्रेटिक र रिपब्लिकन दुबै पार्टीको समर्थनमा बाइपार्टिसन बिधेयक बनाएर यो रूपमा ल्याउनु सामान्य उपलव्धी हैन।

म चुनावी वर्षमा छु। स्मरणीय कुरा के छ भने, मेरो निर्वाचन क्षेत्र ७ प्रतिशतभन्दा कम एसियन मूलका आप्रवासी रहेको क्षेत्र हो जहाँ दक्षिण एसियालीको ज्यादै नगण्य बसोबास छ, नेपाली मतदाताको संख्या त अझ कम छ। यस्तो प्रतिकुल दृश्य हुँदाहुँदै पनि उम्मेद्वारी घोषणा गरिसकेको मैले यो विधेयकका लागि ठूलो संघर्ष गरेको छु। तर, मैले यो सारा संघर्ष मेरो मातृभूमी नेपाल र आदरणीय नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीका लागि गरेको हुँ।

अझै पनि हामी सफलताको शिखर चुमिसकेका छैनौ, हामीले निर्णायक खुड्किला पार गरे पनि अझै केही महत्वपूर्ण खुड्किला बाँकि नै छन्। मलाई आशा एवं विश्वास छ, हामी यसै सप्ताहान्तमा ती खुड्किला पार गरेर हामी शिखरमा हुनेछौं। हामी त्यो सुखद क्षणको प्रतीक्षा गरौं।

यहाँहरूको आशीर्वाद, सहयोग, साथ र सद्भावको अपेक्षासहित,
डेलिगेट ह्यारी भण्डारी, पीएचडी
मेरिल्याण्ड हाउस अफ एसेम्बेली, डिस्ट्रिक्ट-८