जनता टाइम्स

२३ असार २०७६, सोमबार १७:३१

घुस लिएर गोल्ड मेडल दिलाउने त्रिविका कर्मचारीविरुद्ध अख्तियारको मुद्दा


काठमाडौं, असार २३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएर परीक्षाको परिणाम फेरबदलमा संलग्‍न त्रिभुवन विश्वविद्यालयको बल्खु स्थित परीक्षणा नियन्त्रण कार्यालयका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले घुस खाएर परीक्षाको नतिजा फेर्ने परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका कर्मचारी रामबहादुर कर्माचार्यसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो। एमए गोप्य शाखाका अधिकृत रामबहादुर कर्मचार्यलाई एक लाख ५० हजार घुस दिएर भक्तपुर बहुमुखी क्याम्पसका शिक्षण सहायक सुरेन्द्रप्रसाद कोइरालाले एमए इकोनोमीमा गोल्डमेडल लिएको खुलेपछि अख्तियारले अनुसन्धान थालेको थियो।

अख्तियारको विज्ञप्ती-

त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीहरुको परीक्षाको प्राप्ताङ्क फेरबदल गरी/गराई नतिजामा अनियमितता गरेको भन्ने समेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दुधपाटी भक्तपुरमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत रहेका राष्ट्रसेवक शिक्षक सुरेन्द्र प्रसाद कोईरालाले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय मानविकी संकाय तर्फको M.A. गोप्य शाखामा कार्यरत शाखा अधिकृत राम बहादुर कर्माचार्यसँग एक आपसमा मिलेमतो गरी रु. १,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) लिई/दिई निज सुरेन्द्र प्रसाद कोईरालाले आफ्नो M.A. Economics मा Gold Medal ल्याउने उद्देश्यले सम्पूर्ण परीक्षार्थीको भन्दा बढी प्राप्ताङ्क हुने गरी अनुचित ढंगले अंक थपाई प्रथम श्रेणीमा प्रथम भई उत्तिर्ण गरेको, सन् २०१९ को दीक्षान्त हुँदा प्रथम श्रेणीमा प्रथम (Gold Medal) को हकदार बनेको निज राम बहादुर कर्माचार्यलाई नै प्राप्ताङ्क थप गर्न लगाई M.A. Rural Development प्रथम श्रेणी हासिल गरेको तथा M.A. Sociology कोपरीक्षामा अनुपस्थित हुँदाहुदै पनि उत्तिर्ण भएको देखिएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा गोप्य शाखामा कार्यरत राष्ट्रसेवक कर्मचारी राम बहादुर कर्माचार्यले त्रिभुवन विश्वविद्यालयको मर्यादा विपरित गोपनियता भङ्ग गरी आफ्नो ओहोदा र पदको दुरूपयोग गरी परीक्षाको परिणाम फेरबदल गर्न सुरेन्द्र प्रसाद कोईरालासँग मिलेमतो गरी निज सुरेन्द्र प्रसाद कोईरालाले हासिल गरेका Master’s Degree in Economics, Rural Development र Sociology संकायका १५ वटा पेपरमा ३ नम्बर देखी ५० नम्बर सम्म गरी कुल २२४ अंक थप गर्न सुरेन्द्र प्रसाद कोईरालाबाट रु. १,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) र केदार भट्टराईले हासिल गरेको Master’s Degree in Economics संकायको ५ वटा पेपरमा १०/१० नम्बरका दरले ५० अंक थप गर्न सुरेन्द्र प्रसाद कोईराला मार्फत दिएको रु.३,००,०००।– (तीन लाख रुपैयाँ) गरी जम्मा रु. ४,५०,०००।- (चार लाख पचास हजार रुपैयाँ) लिई राम बहादुर कर्माचार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ र दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निज राम बहादुर कर्माचार्यको हकमा ऐ. ऐनको दफा १३ बमोजिम सजाय हुन साथै निज राम बहादुर कर्माचार्यले परीक्षाको परिणाम फेरबदल गर्न घुस/रिसवत लिएको देखिंदा ऐ. ऐनको दफा ३ को उपदफा (१) को कसुरमा विगो रु. ४,५०,०००।- (चार लाख पचास हजार रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन र घुस/रिसवत बापत लिएको विगो रु. ४,५०,०००।- (चार लाख पचास हजार रुपैयाँ) प्रतिवादीबाट असुल उपर गरी जफत हुन समेत मागदावी लिइएको ।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दुधपाटी भक्तपुरमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत रहेका राष्ट्रसेवक शिक्षक सुरेन्द्र प्रसाद कोईरालाले नतिजा फेरबदल गर्न तीन संकायका १५ वटा पेपर (विषय) मा ३ नम्बर देखी ५० नम्बरसम्म गरी कूल २२४ अंक थप गर्न लगाएको, त्यस्तै केदार भट्टराईबाट रु. ३,००,०००।–(तीन लाख रुपैयाँ) लिई निज केदार भट्टराईको M.A. Economics को ५ वटा पेपरमा १०/१० नम्बरका दरले ५० अंक राम बहादुर कर्माचार्यलाई थप गर्न लगाई प्रथम श्रेणीमा उत्तिर्ण गराएकोले सुरेन्द्र प्रसाद कोईरालाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ र दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निज सुरेन्द्र प्रसाद कोईरालाको हकमा ऐ. ऐनको दफा १३ बमोजिम सजाय हुन साथै निज सुरेन्द्र प्रसाद कोईरालाले परीक्षाको परिणाम फेरबदल गराउन घुस/रिसवत लिए दिएको देखिदाँ ऐ.ऐनको दफा ३ को उपदफा (१) को कसुरमा विगो रु. ४,५०,०००।- (चार लाख पचास हजार रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन र घुस/रिसवत बापत लिनु/दिनु गरेको विगो रु. ४,५०,०००।- (चार लाख पचास हजार रुपैयाँ) निज प्रतिबादीबाट असुल उपर गरी जफत हुन समेत मागदावी लिइएको।

बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वरमा का.मु प्रशासनिक अधिकृत छैठौ तहमा कार्यरत राष्ट्रसेवक कर्मचारी केदार भट्टराईको हकमा आफ्नो M.A. Economics का ५ वटा पेपरमा १०/१० नम्बरका दरले ५० अंक थप गर्न सुरेन्द्र प्रसाद कोईराला मार्फत रु. ३,००,०००।– (तीन लाख रुपैयाँ) दिई राम बहादुर कर्माचार्यलाई थप गर्न लगाएकोले निज केदार भट्टराईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ र दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा निज केदार भट्टराईको हकमा ऐ. ऐनको दफा १३ बमोजिम सजाय हुन साथै निज केदार भट्टराईले आफ्नो परीक्षाको परिणाम फेरबदल गर्न घुस/रिसवत दिएको देखिंदा ऐ ऐनको दफा ३ को उपदफा (१) को कसुरमा विगो रु.३,००,०००।- (तीन लाख रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन र घुस/रिसवत बापत दिएको विगो रु. ३,००,०००।- (तीन लाख रुपैयाँ) निजबाट असुल उपर गरी जफत हुन समेत माग दावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।