जनता टाइम्स

२४ असार २०७६, मंगलवार ०८:४५

कांग्रेस केन्द्रीय समिति बैठक नै सारेर देउवाको घरमा सप्ताह


काठमाडौं, असार २३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धार्मिक कार्यमा निक्कै विश्वास राख्नुहुन्छ । उहाले निर्वाचनको मुखमै ज्योतिषीले अर्को पटक प्रधानमन्त्री बन्छस् भनेर भनेको कुराको पनि निक्कै चर्चा भयो । धार्मिक कर्ममा विश्वास राख्नुहुन देउवाले नै ज्योतिषीको कुरा बाहिर ल्याउनु भएको थियो ।

अहिले भने देउवाले कांग्रेस केन्द्रीय समितिको बैठक नै सारेर घरमा सप्ताह लगाउनु भएको छ । केन्द्रीय समिति बैठकका एजेण्डा ढिलै भए पनि तय भइसकेकाले बैठक सर्दैन भन्ने धेरैलाई लागेको थियो । तर बैठकका एजेण्डासँगै नेताहरुले बैठकको मिति सार्ने विषयमा पनि सहमति गरिसकेका थिए ।

पार्टी सभापति देउवा पारिवारिक काममा व्यस्त हुनु पर्ने भएकाले बैठक सारिएको पार्टी स्रोतले जनाएको छ । सभापति देउवाको घरमा यही बेला सप्ताह लगाइएको छ । सप्ताहमा बस्नु पर्ने भएकाले सभापतिकै आग्रहमा बैठक ५ दिनपछिका लागि सारिएको हो । केन्द्रीय समिति बैठकका लागि भन्दै जिल्ला जिल्लाबाट आएका प्रतिनिधिहरु भने नेताहरुले बैठक सार्दा दुःख पाएको गुनासो गर्छन् ।