जनता टाइम्स

२४ असार २०७६, मंगलवार ०९:०६

नेतृत्वको मोडल तथा नेताहरुको व्यवस्थापनमा अडकियो समाजवादी-राजपाको एकता


काठमाडौं, असार २४ । उपेन्द्र यादव र डा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीचको पार्टी एकता वार्ता अन्तिम चरणमा पुगेको छ । समाजवादी र राजपाका शीर्षनेता पार्टी एकताका लागि अन्तिम छलफलमा रहेका हुन ।

स्रोतका अनुसार पार्टी एकताको छलफलमा समाजवादी पार्टीबाट भट्टराई, यादव र अर्का नेता अशोक राई तथा राजपाबाट ठाकुरसहित राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारीलगायतका नेताहरु छलफलमा जुटिरहेका छन् । दोस्रो तहका नेताहरु पनि निरन्तर छलफलमा रहेका छन ।

समाजवादी पार्टीका नेता एवं शहरी विकास मन्त्री मोहम्मद इस्तेयाक राईले दुवै पक्षबीच पार्टी एकताको सैद्धान्तिक सहमति भैसकेको बताएका छन् । हामी दुवै पक्ष पार्टी एकताको अन्तिम छलफलकै क्रममा छौँ । छिट्टै एकता गर्ने गरी अहिले छलफल चलिरहेको छ । सैद्धान्तिक कुरा मिलिसकेका छन, राईले भन्नुभयो ।

समाजवादी र राजपाबीचको पार्टी एकता नेतृत्वको मोडल तथा नेताहरुको व्यवस्थापनमा केन्द्रित भएको छ । एकल वा सामुहिक नेतृत्व, केन्द्रीय कार्यसमितिको संख्या, जिम्मेवारी बाँडफाटलगायतका विषयमा कुरा मिल्न बाँकी रहेको छ । समाजवादी पार्टीले पार्टी नेतृत्व आफ्नो हुनुपर्ने अडान लिएको छ ।

तराई मधेसमा राजपाभन्दा ठूलो शक्तिको रुपमा स्थापित भएकाले समाजवादी पार्टीबाट मुल नेतृत्व हुनुपर्ने तर्क समाजवादी पार्टीका नेताहरुले गरेका छन् । तर राजपा नेपालका नेताहरुले भने सामुहिक नेतृत्व अर्थात् धेरै अध्यक्ष बनाउने गरी पार्टी एकता हुनुपर्ने बताएका छन् ।