जनता टाइम्स

२४ असार २०७६, मंगलवार १०:१९

सुनिल थापाकै गृहजिल्ला धनकुटामा रित्तियो राप्रपा प्रजातान्त्रिक, सभापतिसहित सवै नेताले छाडे पार्टी


धनकुटा, असार २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) जिल्ला सभापति कुमारबहादुर थापा सहित जिल्ला तहका शिर्ष नेताले पार्टी बिघटन गरी परित्यागको घोषणा गर्नुभएको छ । महामन्त्री सुनिलबहादुर थापाको गृहजिल्ला धनकुटाका नेताहरुले पत्रकार सम्मेलन गरी पार्टी बिघटनको घोषणा गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीको केन्द्रमा एकीकरणपछि व्यक्तिगत स्वार्थमा निहित भएको भन्दै अब स्वतन्त्र रहने गरी पार्टी परित्यागको घोषणा गरिएको जानकारी दिइएको छ । यसरी पार्टी परित्याग गर्नेमा जिल्ला सभापति कुमार बहादुर थापा, उपसभापति टीकाप्रसाद घिमिरे, क्षेत्र नं १ का अध्यक्ष धर्मध्वज राई, क्षेत्र नं २ का अध्यक्ष श्यामबहादुर गुरुङ, पाख्रिवास नगर कमिटी अध्यक्ष कृष्णबहादुर थापा हुनुहुन्छ ।

यस्तै, जिल्ला सदस्य रेवतराम भण्डारी, लक्ष्मीराज थापा, शंकर थापा, दुर्गा पुरी, गर्जमान राई, रिगिन्द्र बहादुर लिम्बू, नरेन्द्रकुमार राई, पवित्रा श्रेष्ठ, लोकेन्द्र घिसिङ, टेकबहादुर सारु, चन्द्र गुरुङ, क्षेत्रीय सदस्य रमेश चापागाईं, चोलेन्द्र गिरी र कृष्ण कार्की लगायत रहनुभएको छ ।

राप्रपा जिल्ला कमिटी नै विघटन भएको कारण जिल्लाका सात स्थानीय तह र ६० वडामा गएर छलफल गरी के गर्ने भन्दै निर्णय गर्ने निवर्तमान उपाध्यक्ष टीकाप्रसाद घिमिरेले बताउनुभयो ।