जनता टाइम्स

२४ असार २०७६, मंगलवार १४:०३

पन्ध्र हजार बिरुवा वितरण गरिने


दाङ, असार २४

दाङको तुलसीपुर उपमहानगरपालिकाले यस वर्ष पन्ध्र हजार बिरुवा वितरण गर्ने भएको छ । उपमहानगरपालिकाको कृषि महाशाखाले यस वर्ष विभिन्न प्रजातिका १५ हजार बिरुवा किसानलाई वितरण गर्ने भएको हो । किसानहरुले गरेको मागका आधारमा बिरुवा खरीद गर्न लागिएको महाशाखाका कृषि अधिकृत कुलराज दहितले बताउनुभयो ।

“हामीले किसानको मागअनुसार बिरुवा खरीद गरेर बिक्री गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो । दहितका अनुसार यस वर्ष सबैभन्दा बढी आँपका बिरुवा किसानले माग गरेका छन् । किसानलाई ५० प्रतिशत अनुदानमा आँपका बिरुवा वितरण गरिनेछ ।

बिरुवा रोप्न प्रोत्साहन गर्न आँपका बिरुवामा अनुदान दिन लागिएको अधिकृत दहितको भनाइ थियो । उपमहानगरपालिकाले जलवायु परिवर्तन अनुकूलनका लागि बिरुवा रोप्ने कामलाई प्रोत्साहन गर्दै आएको छ । उपमहानगरपालिकाले स्वच्छ र हराभरा उपमहानगर बनाउन ‘क्लिन तुलसीपुर, ग्रीन तुलसीपुर’ अभियान चलाएको छ ।