जनता टाइम्स

२५ असार २०७६, बुधबार ११:१४

भोजपुर आक्रमण अपडेट : गस्तीमा गईरहेका बेला होटलबाट आक्रमण


भोजपुर, असार २५

विप्लव समुहको आक्रमणमा प्रहरीको मृत्यु भएपछि भोजपुरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । घटनास्थलमा थप सुरक्षाकर्मी पठाउने तयारी भईरहेको छ । त्यहाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार गस्तीमा हिडिरहेका बेला प्रहरीमाथी आक्रमण भएको जानकारी दिनुभएको छ ।

उहाका अनुसार बुधबार विहान भोजपुर सदरमुकाममा हटियाको दिन थियो। बिहानै सादा पोशाकका प्रहरी हटिया क्षेत्रमा गस्ती निस्केका थिए। पाँच जनाको संख्यामा प्रहरी हाट बजार गस्तीमा थिए। साढे ८ बजे अचानक तिनै प्रहरीमध्ये एक जनामाथि गोली चल्यो। चार–पाँच जनाको संख्यामै रहेका विप्लव समुहका कार्यकर्ताले चलाएको गोली प्रहरी जवान सन्जीव राईलाई लाग्यो। ‘साथीमाथि गोली लागेपछि नजिकै रहेका अर्का प्रहरीले तुरुन्तै गोली चलाउँदा विप्लव कार्यकर्ताको मृत्यु भएको हो,’ प्रजिअ खतिवडाले टेलिफोनमार्फत भन्नुभयो ।

प्रहरीको गोली लागेर विप्लवका ओखलढुंगा इन्चार्ज नीरकुमार राईको मृत्यु भएको खतिवडाले पुष्टि गर्नुभएको छ । उहाका अनुसार प्रहरी जवानलाई पछाडिबाट गोली हानिएको थियो। अर्का प्रहरीले तुरुन्तै प्रतिकारस्वरूप राईमाथि गोली चलाएका थिए। दुबै जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

‘विप्लव’ नेतृत्वको नेकपाका ओखलढुंगा इन्चार्ज राई पाँचधारे होटलमा बसिरहेका थिए । गस्तीमा रहेको प्रहरी टोली त्यही होटलमा पुग्यो। प्रहरी देख्नेबित्तिकै अत्तालिएका विप्लव कार्यकर्ताले सुरुमै प्रहरीमाथि गोली हानेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए । प्रहरी देख्ने बित्तिकै निरकुमार प्रतिकारमा उत्रिएका थिए।

प्रहरीले उनलाई पहिचान गर्न नपाउँदै छातीमा गोली लागेर प्रहरी जवान सञ्जीव राई भुइँमा ढले। लगत्तै प्रहरीको जवाफी फायरिङमा निरकुमारमाथि गोली लाग्यो। होटलमा एकाएक आतंक फैलियो। केही बेरमै भोजपुर बजार नै त्रसित भएको छ। अहिले बजार प्रायःबन्द जस्तै छ। मृतक दुवैको शव अहिले  जिल्ला अस्पताल भोजपुरमा राखिएकाे छ ।