जनता टाइम्स

२७ चैत्र २०७८, आईतवार १९:१८

यी मन्त्रीले नांगेझार पारिदिए माधवको बिधि–पद्धती


धनगढी, चैत २७ । नेकपा एकीकृत समाजवादी नेपालका तारा लामा तामाङ गत १ असोजमा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुनुभयो । मन्त्री बनेको सात महिनामै उहाँको पद खुस्कियो । तर उहाँले मन्त्रीबाट हटाइएको दुई दिनपछि मात्रै जानकारी पाउनु भयो ।

कञ्चनपुरबाट निर्वाचित प्रदेशसभा सदस्य लामाले मन्त्रीबाट हटाइएको जानकारी दुई दिनपछि मात्रै पाइएको बताउनु भयो । मुख्यमन्त्री त्रिलोचन भट्टले २५ चैतमा मन्त्रिपरिषद् पुनर्गठन गर्दा लामालाई प्दमुक्त गरी उहाँको मन्त्रालयमा समाजवादीकै प्रदेशसभा सदस्य प्रकाश रावललाई मन्त्री बनाउनु भएको थियो ।

लामाले सामाजिक सञ्जालमा मन्त्रिबाट हटाइएको जानकारी दुई दिनपछि मात्रै पाएको जानकारी दिनुभएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले उहाँलाई फिर्ता बोलाएको थियो । शुक्रबार मन्त्रिपरिषद् हेरफेर गरिएको थियो । तर, लामाले त्यो जानकारी आइतबार मात्रै पाएको बताउनु भयो ।

लामाले फेसबुकमा लेख्नुभएको छ, ‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त ।’ एकीकृत समाजवादीले गत शुक्रबार आफ्नो पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका तीन मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाएको थियो। एकीकृत समाजवादीबाट मन्त्री बनेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आर्थिक मामिलामन्त्री तारा लामा तामाङलाई फिर्ता बोलाइएको थियो।

लामाले मन्त्रीबाट फिर्ता बोलाउँदा पार्टीमा कुनै छलफल नगरेको बताउनु भयो । उहाँले फिर्ता हुने जानकारी नदिइएको प्रति कडा असन्तुष्टि जनाउनु भएको छ ।