चितवन, २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले सत्ताधारी दल र नेताले नेपालका उद्योगहरू बेचेर ठूलो भ्रष्टाचार गरेको आरोप लगाएका छन् । राप्रपा चितवनले भरतपुरमा आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै पाण्डेले उद्योगहरू बेचिएपछि देशको व्यापार घाटा बढ्दै गएको बताउनुभयो । २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं ३ मा पाण्डेलाई प्रचण्डले हराउनुभएको थियो ।
‘सत्ताधारी दल र नेताहरुले उद्योग बेचेर ठूलो भ्रष्टाचार गरेका छन् । जसले गर्दा देशको व्यापार घाटा बढ्दै गएको छ’, पाण्डेले भन्नुभयो । एमसीसी भन्ने चक्रब्यूह खडा गरेर सरकारले भ्रम छरेको भन्दै उहाँले कोशी र कर्णालीमा फसे जसरी फेरि पनि नेपाल फस्न लागेको उहाँले दाबी गर्नुभयो ।
‘जसरी कोशी र कर्णालीमा हामी फस्यौं, अहिले पनि त्यसरी नै फस्दै छौं । एमसीसीले देशमा बिजुली बल्ने होइन, देशमा उत्पादन गरेको बिजुली हाइटेन्सन लाइनबाट सोझै विदेश लैजान्छन्’, उहाँले भन्नुभयो, ‘त्यसैले हामी चुनावी प्रचारप्रसारको लागि चितवन आएका होइनौं, एक पटक देश बचाइदिनोस् भन्न आएका हौं।’
देशमा बन्द भएका उद्योग सञ्चालन गरेर स्वदेशमै रोजगार सिर्जना गर्नुपर्ने भन्दै उहाँले स्वास्थ्य, शिक्षा, विद्युतजस्ता पूर्वाधार निर्माणमा राप्रपालाई जिम्मा दिने उहाँले आग्रह गर्नुभयो । ‘प्राथमिक स्वास्थ्य उपचार हामी निःशुल्क गर्छौं। कक्षा १२ सम्म सुको पैसा नपर्ने व्यवस्था मिलाउँछौं’, उहाँले भन्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष हेमजङ्ग गुरुङले ठूला दलले ठूला भ्रष्टाचार गर्दा जनताले दुःख पाइरहेको बताउनुभयो ।
उहाँले अबको चुनावमा फेरि पनि ठूला दललाई जिताएर गल्ति गर्न नहुने बताउनुभयो । ‘ठूला दलले ठूलै भ्रष्टाचार गर्दा त्यसको सजाय हामीले पाइरहेका छौँ । त्यसैले अब त्यस्तो गल्ती नगरौं । नेता चिनेर जिताऔं’, उहाँले भन्नुयभो । प्रचण्ड र देउवाले आफ्नो कमजोरी लुकाउन जतापनि आफ्नै मान्छेलाई मात्रै काखी च्याप्दै आएको उहाँले आरोप लगाउनुभयो ।
राप्रपाकी महामन्त्री कुन्ती शाहीले देश निर्माणमा राजा महेन्द्रको परिकल्पना अधुरो रहेको बताउनुभएको छ । उहाँले राजा महेन्द्रले चितवनलाई कस्तो बनाउने भन्ने विषयमा बनाएको सोच अधुरै रहेको बताउनुभएको हो । ‘अब चितवन बनाउन विक्रम पाण्डेजस्तो विकासप्रेमी नेता चितवनले पाएको छ। कम्युनिस्टले सोचेजस्तो दास मानसिकताबाट देश चल्दैन’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्