जनता टाइम्स

२६ असार २०७६, बिहीबार ०९:०९

भोजपुरमा प्रहरी-बिप्लव कार्यकर्ता भिडन्त : पहिला सँगै चियापान, अनि गोली हानाहानमा गयो दुईको ज्यान


भोजपुर, असार २६

सुरक्षाकर्मीमाथि आक्रमणको नीति नभएको भाषण गर्दै आएको बिप्लव समुहले बुधवार भोजपुरमा एक प्रहरीको हत्या गर्यो । प्रहरीको मात्रै ज्यान लिएन, आफ्नै पार्टीको ओखलढुंगा कमाण्डर पनि मारिए । यतिसम्म भयो कि ज्यान गुमाउने दुवै राई परे । स्थानीय प्रत्यक्षदर्सीको बयानअनुसार भोजपुर सदरमुकामस्थित मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र बिप्लव समूहका जिल्ला नेता एउटै टेबुलमा बसेर चिया खाइरहेका थिए ।

दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो । भेट हुनासाथ हात मिलाए र चिया पिउन सुरु गरे । चन्द समूहका ओखलढुंगा जिल्ला इन्चार्ज नीरकुमार राई र सादा पोसाकका प्रहरी जवान सञ्जीव राई चियाको चुस्कीसँगै गफिँदै थिए ।प्रत्यक्षदर्शीका अनुसार नीरकुमार दुई दिनयता चिया पसलमा आउनेरजाने गरिरहेका थिए । बुधबार पनि बिहानै आएर अरू मान्छेसँग ‘हेलोहाई’ गरिरहेका थिए । करिब साढे ८ बजे सञ्जीव आइपुगे । दुवैले ‘दाइभाइ’ को साइनो पनि लगाए । अभिवादन साटासाट गरे । सञ्जीव सुराकीका लागि चिया पसल छिरेका थिए । गफकै क्रममा नीरकुमारले सञ्जीवलाई भने, ‘विप्लवको पार्टीमा लाग्यो भन्दैमा मलाई किन खेदो गर्छौ रु पार्टीमा लाग्नु आस्थाको कुरा हो ।’ सञ्जीवले सहज ढंगले उत्तर फर्काए, ‘हामी दुवै राई भएकाले भाइभाइ हो । केगर्नु र ?’

सञ्जीवले यति भनेपछि नीरकुमार पिसाब गर्न जाने भन्दै पसलबाट निस्कन खोजे । सञ्जीवले नीरकुमारको पाखुरा समातेर बस्न आग्रह गरे । ‘गफ गरौं, तपाईं कहाँ जान लागेको ? अहिले नजानुस्, अरू साथी आउँदै छन्,’ प्रहरी जवान सञ्जीवले आग्रह गरे । सञ्जीवको यो भनाई उनलाई प्रहरीले पक्राउ गर्न लागेको संकेत थियो । तर निरकुमार निहुँ खोज्न थाले । दुवै जनाबीच तानातान भयो । त्यही बेला बिप्लवका हतियार बोकेका कार्यकर्ता दगुर्दै होटल अघिल्तिर आए ।

त्यतिबेला तानातानकै क्रममा नीरकुमार र सञ्जीव होटल बाहिर पुगिसकेका थिए । बिप्लवका हतियारधारी कार्यकर्ताले सञ्जीवलाई गोली प्रहार गरे । त्यति नै खेर सादा पोसाकका हतियारधारी प्रहरी पनि घटनास्थलमा आइपुग्यो। प्रहरीले पनि नीरकुमारलाई गोली प्रहार गरे । दुवै जना गोलीले ढलेपछि बिप्लवका चार जना कार्यकर्ता भागे । होटल बाहिर हटियामा आएका सर्वसाधारण भागाभाग गर्न थाले । ‘गोली चलेपछि तरकारी पसले र ग्राहकको भागाभाग भयो, कोही डरले रुनसमेत थाले’ एक प्रत्यक्षदर्शीले भने ।

घटनामा एक प्रहरी घाइते छन् । जिल्ला अस्पतालमा उनको उपचार भइरहेको छ । बुधबारे हाटबजार आसपास चन्द कार्यकर्ता आएको गोप्य सूचनाका आधारमा पक्राउ गर्न गएका प्रहरी जवान राईलाई चन्द कार्यकर्ताले गोली चलाएको प्रहरीको दाबी छ । घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब ५ सय मिटर दूरीमा छ ।

‘बिप्लव समूहका हतियारधारी कार्यकर्ता रहेको गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिने अभिप्रायले सादा पोसाकमा प्रहरी खटिएका थिए,’ प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले घटनाबारे भन्नुभयो, ‘हाट नजिकै रहेको पान्धारे होटलमा एक शंकास्पद मानिस भेटिएपछि पक्राउको प्रयास गर्दा अचानक प्रहरी जवान सञ्जीवमाथि गोली प्रहार भयो ।’

नीरकुमारले सञ्जीवको कोखमा गोली प्रहार गरेपछि सँगै सादा पोसाकमा रहेका प्रहरीलेआफ्ना साथीलाई जोगाउन र नीरकुमारलाई पक्राउ गर्न खोज्दा तानातान भएर नीरकुमारलाई गोली लागेको खतिवडाले बताउनु भयो । बिप्लव सो क्रममा प्रहरी जवान खेमनाथ भट्टराईको कुमको हड्डी भाँचिएको छ । उनीमाथि पनि बिप्लवका कार्यकर्ताले आक्रमण गरेका हुन ।