जनता टाइम्स

३ बैशाख २०७९, शनिबार १३:४०

महेश बस्नेतको कटाक्ष: सत्ताधारी गठबन्धन टुटिसक्यो, सरकार स्थानीय तह निर्वाचन पनि सार्न खोज्दैछ


चितवन, ३ बैशाख । नेकपा (एमाले) का नेता महेश बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा रहेको दाबी गरेका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेकाले सरकारले स्थानीय तहको चुनाव सार्न खोजेको बताउनुभयो ।

‘सत्ताधारी गठबन्धन टुट्ने अवस्थामा पुगेको र त्यो कारणले निर्वाचनलाई सार्न खोजेको छ,’ उहाँले भन्नुभयो,‘एउटा विप्लवलाई चुनावमा ल्याउन सकिन्छ भन्ने बहानाको षड्यन्त्र र अर्को चाही संवैधानिक परिषद्ले नियुक्त गरेका निर्वाचन आयोग लगायतका नियुक्तिलाई अदालतसँग सेटिङ गरेर हटाएर चुनाव सार्न सकिन्छ की भन्नेतर्फ पनि लागेको देखिन्छ ।’

गठबन्धन जोगिन्छ की जोगिँदैन भन्नेमा सत्ता गठबन्धन दलका नेतामा नै आशंका रहेको उहाँले बताउनुभयो । यद्यपि, निर्वाचनको आयोगको तीव्र तयारी र निर्वाचनप्रति जनताको लगाव देखेर सत्ता गठबन्धनले चुनाव सार्न सक्ने अवस्था भने नरहेको उहाँले दावी गर्नुभयो ।

‘पाँच दलभित्र पनि गठबन्धनको प्रक्रिया कति जटिल छ भन्ने हामीले महसुस गरेका छौँ,’ उहाँले भन्नुभयो,‘भरतपुरमा गठबन्धनल अस्वीकार गर्छौँ भनेर कांग्रेसले खुला भनेको अवस्था छ । कांग्रेसका ठूला नेताहरू पनि गठबन्धन गर्ने या नगर्ने भनिरहेको अवस्था छ ।’ त्यस्तै, एमालेको चुनाव चिह्न सूर्य लिएर साना दलका उम्मेदवारले पनि चुनाव लड्न पाउने गरी गरेको सहमतिलाई गठबन्धन भन्न नमिल्ने उहाँले बताउनुभयो ।

‘नेकपा एमालेको आकर्षण र प्रभावबाट विभिन्न दलका नेताहरू नजिक हुनुभनेको एमालेसँग निकट हुनु हो,’ उहाँले भन्नुभयो । यसपालि देशभरी नै निर्वाचनमा एमालेले धावा बोल्ने उद्घोष गरिसकेको उहाँले बताउनुभयो । ‘एमालेले गठबन्धन गर्नेभन्दा पनि एमालेप्रति आकर्षण भएका साथीहरूलाई एमालेको चुनाव चिह्न लिएर हामीसँग आउनु खोज्छन् भने हामीले यसलाई फराकिलो ढंगले लिन्छौँ,’ उहाँले भन्नुभयो ।