काठमाडौं, ८ असोज । नेपाल पत्रकार महासंघले महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न भनेको छ । आज गरिएको भर्चुअल बैठकका माध्यमबाट सम्पन्न केन्द्रीय समितिको पाँचौं पूर्णबैठकले निर्वाचनमा उम्मेदवार बन्न महासंघको सदस्यता परित्याग गर्नुपर्ने निर्णय गरेको हो ।
बैठकले आसन्न स्थानीय निर्वाचनमा महासंघका सबै सदस्यहरूलाई पत्रकार आचारसंहिताको पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न पनि अपिल गरेको महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यस्तै महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुन जाने निर्णय समेत बैठकले गरेको छ ।
यसैगरी निर्वाचनका समयमा महासंघका सदस्यहरूको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलन गर्न महासंघको आचारसंहिता अनुगमन विभाग र अनुशासन समितिलाई जिम्मा दिने निर्णय पनि गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्