जनता टाइम्स

९ बैशाख २०७९, शुक्रबार ०८:०४

राखेप बोर्ड बैठकमा बोलाइएन अन्तरिम आदेश लिएर आएका आठ सदस्य


काठमाडौं, बैशाख ९ । राजनीतिक खिचातानी तथा नियुक्ति र बर्खास्ती प्रकरणका कारण तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक आज हुँदैछ ।

सदस्यसचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आजको लागि बोर्ड बैठक बोलाउनु भएको हो । युवा तथा खेलकुद मन्त्रालयमा हुने बैठक बिहान ११ बजेबाट बस्ने बताइएको छ । अन्तिम पटक राखेपको बोर्ड बैठक २०७६ सालको सुरुवातमा बसेको थियो ।

अदालतबाट अल्पकालीन अन्तरिम आदेश लिएर आएका आठ सदस्यलाई नबोलाइएको बैठकमा मुख्य दुई एजेन्डा रहनेछन् । सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद र चिनमा हुने १९औं एशियन गेम्सलाई मुख्य एजेन्डा बनाउनु भएको छ । मन्त्री परिषद्को बैठकले यस अघि नै नवौ राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ ।