जनता टाइम्स

२६ असार २०७६, बिहीबार १७:१४

कांग्रेसलाई सरकारको प्रश्न : विप्लव समुहलाई हेर्ने दृष्टिकोण के हो ?


काठमाडौं, असार २६

सरकारले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई हिसात्मक गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव समुहप्रतिको धारणा सार्वजनिक गर्न माग गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले कांग्रेसको नीतिबारे प्रश्न गर्नुभएको हो ।

चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली कांग्रेसले सरकारमाथि प्रश्न उठाउने काम गरिरहेको भन्दै उहाले आफ्नो दृष्टिकोण स्पष्ट पार्न आग्रह गर्नुभयो । संविधान, कानुन र शान्तिका विरुद्ध नेपाली कांग्रेसले चन्द समूहलाई किन काखी च्यापेको भनि प्रश्न पनि गर्नुभयो । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता कुमार पौडेल हत्याका विषयमा संसद अवरुद्ध गरिरहेको कांग्रेसलाई आफ्नो नीतिमा स्पष्ट हुनेतर्फ संकेत गर्दै उहाले भन्नुभयो, ‘कांग्रेस दिनभरि बिपी र रातभर विप्लव हो ?’

सर्लाहीमा पौडेलका साथै भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरी जवान मारिएको विषयमा समेत प्रतिपक्षबाट केही अप्ठ्यारा टिप्पणी आएको बताउँदै उहाले शान्ति चाहने र हिंसा गर्नेलाई एकै नजरले हेर्नु प्रतिपक्षको दृष्टिदोष भएको उल्लेख गर्नुभयो । कांग्रेसको चारताराबाट शान्ति र लोकतन्त्रका दुई तारा हराएको भन्दै मन्त्री बास्कोटाले कटाक्ष समेत गर्नुभयो ।