जनता टाइम्स

२६ असार २०७६, बिहीबार १७:२८

सर्लाहीमा प्रहरीको गोली लागि मृत्यु भएका सरोजनारायणका परिवारलाई १० लाख दिने सरकारको निर्णय


काठमाडौं, असार २६

प्रहरीको गोली लागेर मारिएका सर्लाहीका सरोजनारायण सिंहको परिवारलाई सरकारले १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषदको निर्णयबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाले त्यस घटनामा घाइते भएकाहरुको उपचारको व्यवस्था पनि सरकारले गर्ने जानकारी दिनुभयो । गत शनिवार दिउँसो सर्लाही र महोत्तरीको सीमा बाँके खोलामा बालुवा गिट्टी निकाल्न क्रसर उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर १२ वर्षीय बालक अमित रायको मृत्यु भएको थियो ।

रायको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयले गत आइतवार सर्लाहीको बाँके जंगलस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्न गएका थिए । अवरुद्ध राजमार्ग खोलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर सिंहको मृत्यु भएको थियो ।