जनता टाइम्स

२७ असार २०७६, शुक्रबार ०९:४४

आठ लाख घुससहित पक्राउ परेका उपकुलपति रौनियारलाई काठमाडौं ल्याइदै


काठमाडौं, असार २७

८ लाख घुससहित निवासबाटै पक्राउ परेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक कारवाहीका लागि काठमाडौं ल्याइएको छ । उनिसहित पक्राउ परेका उनका भतिज डा. रामहरि रौनियारलाई पनि काठमाडौं ल्याइदै गरेको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो ।

बिहीबार प्रतिष्ठानको भवन निर्माणको ठेक्का पाएका ठेकेदारसँग ठेक्का लिए वापतको ८ लाख रुपैयाँ नगद सहित रौनियार प्रतिष्ठानको निवासबाट रंगेहात पक्राउ परेका थिए । रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालयका प्रहरी उपरीक्षक हेम थापाको नेतृत्वमा खटिएको टोलीले सेवाग्राहीबाट घुस रकम लिए लगत्तै पक्राउ गरेको थियो । रौनियारलाई कार्यकक्षमा रकम लिएर निवासमा राख्न जाने वित्तिकै पक्राउ गरिएको थियो ।

ठूलो परिमाणको रकमसहित पक्राउ परेका रौनियार विरुद्ध मुचुल्का तयार पार्न अख्तियारको टोलीलाई रातभर समय लागेको थियो । रौनियारलाई टोलीले शुक्रबार बिहानै गाडीमा राखेर काठमाडौं लगिएको अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक हेम थापाले बताउनु भयो ।

रौनियारले प्रतिष्ठानमा निर्माण र विभिन्न उपकरण खरिदमा ठेकेदारसँग रकम माग गरेको उजुरी परेको थियो । उजुरीपछि पीडित पक्षसँग रकम माग गरेको फोन रेर्कड अख्तियारमा पुगेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पीडितलाई ८ लाख रकम दिएर रौनियारलाई पक्राउ गर्न टोली परिचालन गरेको बुझिएको छ ।