जनता टाइम्स

२७ असार २०७६, शुक्रबार ११:३९

सप्तकोशीमा पानीको बहाव वर्षकै उच्च, उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनको निर्देशन


सप्तरी, असार २७

लगातारको अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । सप्तकोशीमा आज बिहान ८ बजे पानीको बहाव १ लाख ७९ हजार ६१५ क्युसेक पुगेको हो । बहाव बढेसँगै पानी निकासीको लागि ५६ मध्ये २३ वटा ढोका खोलिएको छ ।

सप्तकोशीको पानीको बहाव कोशी ब्यारेजमा मापन गरिन्छ । ब्यारेजमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) ईश्वरी दाहालका अनुसार पानीको बहाव निरन्तर बढ्दै आएको छ । दाहालका अनुसार बिहीबार राती पानीको बहाव १७८११० क्युसेक पुगेको थियो । बिहान ४ बजे केही घटेर १६८८२० पुगे पनि ८ बजेदेखि फेरि बढ्न थालेको हो ।

पानीको बहाव डेढ लाख क्युसेक नाघेसँगै खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएको छ । स्थानीय प्रशासनले नदीको किनारमा रहेका बासिन्दालाई सतर्क रहन सूचनासमेत जारी गरेको छ । कोशीमा पानीको बहाव १५०००० क्युसेक पुगेपछि रातो बत्ति बाल्ने र रातो झण्डा फहराउने गरिन्छ । ६ लाख क्युसेक भार बहन क्षमता रहेको कोशीमा बालुवाका कारण पानीको सतह बढेकोले थोरै बहावमै कोशी ब्यारेजमा दबाब पर्ने गर्छ।

२०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुँदा नै सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएर साबिक हरिपुर, श्रीपुर, पश्चिम कुशाहा र लौकही गाविस डुबानमा पारेको थियो । त्यसपछिका वर्षहरुमा अढाई लाख क्युसेकसम्म पुगेको थियो ।

सप्तकोशी पूर्वी तटबन्ध भत्काएर गाउँ पसेपछि हजारौं मानिस विस्थापित भएका थिए । राजमार्ग भत्काउँदा लामो समयसम्म पूर्वी नेपाल पश्चिमसँग सम्पर्क विच्छेद् भएको थियो भने हजारौं विगाहा खेती योग्य जमिन वर्षौंसम्म बालुवाले पुरिएको थियो । अहिले पनि धेरै पानी पर्ने बित्तिकै सो क्षेत्रका स्थानीयहरु डरले त्रसित हुने गरेका छन् । २०६५ को सोही घटनाका कारण शप्तकोशीमा पानीको बहाव बढन साथ सुरक्षित रहन आसपासका गाउँका बासिन्दालाई सूचना जारी गर्ने गरिएको हो ।