जनता टाइम्स

२७ असार २०७६, शुक्रबार १३:०९

सिद्धिचरण राजमार्ग दुई दिनदेखि अवरुद्ध


ओखलढुंगा, असार २७

लगातारको वर्षाका कारण सिद्धिचरण राजमार्ग दुई दिनदेखि अवरुद्ध छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा पर्ने भँडारे खोलामा आएको बाढीका कारण आजदेखि सिद्धिचरण राजमार्गमा सवारी आवागमन ठप्प भएको हो ।  सगरमाथा क्षेत्रको प्रवेशद्वारमा पर्ने भँडारेको भलका कारण सडक अवरुद्ध भएपछि ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु भएर राजधानी र तराईका जिल्ला जाने/आउने यात्रु अलपत्र परेका छन् ।

ठाडो खोलामा आएको बाढीले सडक अवरुद्ध पारेपछि सयौँ सवारीमा सवार हजारौँ यात्रु अलपत्र परेको सवारी चालक प्रशान्त केसीले बताउनुभयो । “हिजोदेखि बाटैमा बस्नुपरेको छ । होटल पनि भरिभराउ छन् । यात्रुलाई कहाँ के खुवाउने कहाँ राख्ने भन्ने समस्या भइसक्यो”, चालक केसीले भन्नुभयो, “उहाँका अनुसार खोलामा लेदोसहितको भल बढेको छ ।”

भँडारेमा सडक अवरुद्ध भएपछि मितेरी भञ्ज्याङ र टोक्सेलसम्म दुईतर्फ सयौँ सवारी रोकिएका छन् । त्यस्तै उदयपुर र सिन्धुलीको सिमानामा पर्ने बादुरा खोलाको बाढीका कारण काठमाडाँैका लागि छुटेका सवारी घुर्मी र टोक्सेलमै रोकिएका छन् । सवारी र यात्रुको चापका कारण त्यस क्षेत्रका होटलहरुमा खाना खाजासमेत नपाउने अवस्था आएको स्थानीयवासी बालेन्द्र अधिकारीले बताउनुभयो ।

थोरै खर्च बोकेर यात्रामा निस्किएका यात्रु अभावमा गुज्रिएका छन् । “बेलुका घर पुगिएला भनेर पैसा धेरै नबोकी हिँड्यो”, यात्रु सुस्मिता राईले भन्नुभयो, “अब त चाउचाउ खाने पैसा पनि सकियो । साह्रै बिजोग भो यात्रा ।” सडक अवरुद्ध भएपछि ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुबाट राजधानीका लागि छुट्ने सवारी शुक्रबार कम मात्रै छुटेका छन् ।

जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लको नेतृत्वमा सरोकारवालाहरुको टोली सडक सञ्चालन गराउन त्यसतर्फ लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निरन्तरको वर्षाका कारण ओखलढुङ्गाका अन्य कच्ची सडकसमेत अवरुद्ध भएका छन् ।