जनता टाइम्स

१९ बैशाख २०७९, सोमबार १८:४८

म्युजिक भिडियो ‘एकान्तमा’ सार्वजनिक


खोटाङ, १९ वैशाख । गीतकार अगम विकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको साकेला गाउँपालिका–२ रतन्छा घर भई हाल वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेका अगम विकरालको ‘एकान्तमा’ बोलको गीतको म्युजिक भिडियो बजारमा आएको हो ।

५ मिनेटको म्युजिक भिडियो विकराल अगम यूटुव च्यानलबाट सार्वजनिक गरिएको हो । चर्चित गायिका मेलिना राईको स्वर रहेको गीतमा नुहाङ राईको संगीत र फणीन्द्र राईको एरेञ्ज रहेको छ । दार्जिलिङको मिरिकमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा प्रतिमा लिम्बू र मनिन्द्र लिम्बू (गोर्खा)ले अभिनय गरेका छन् ।

भिडियोको निर्देशन स्वयं अगम विकरालले नै गरेका हुन् । आपसी मतभेदका कारण श्रीमानले घर छाडेपछि एक्लिएकी युवतीको विरहलाई म्युजिक भिडियोमा समेटिएको छ । गीतकार विकरालका यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । उनका करिब एक दर्जन गीत रेकर्ड भइसकेको छ । विकरालको ‘नसम्झिने बाचासँगै’ गीत लोकप्रिय छ ।