जनता टाइम्स

२५ बैशाख २०७९, आईतवार १५:२२

लण्डनमा रिटायर ब्रिटिश आर्मी मेयर बिष्णु गुरुङ तेस्रो पटक काउन्सिलरमा निर्वाचित


काठमाडौं, २५ बैशाख । बिष्णु गुरुङ लण्डन बरो अफ हउन्स्लोको ह्यान्वर्थ पार्क वार्डबाट सन् २०२२–२६ का लागि तेस्रो पटक २ सय ६८ मतको अन्तरले काउन्सिलरमा विजयी हुनुभएको छ ।

निर्वाचित काउन्सिलर बिष्णु गुरुङ तथा फराह कमरन

बेलायतको प्रतिपक्षी लेबर पार्टीबाट उम्मेदवार बन्नुभएको गुरुङले १ हजार ३७ मत प्राप्त गरि बिजयी हुनुभएको छ । उक्त वार्डमा उहाँसंगै लेबर पार्टीबाट अर्का काउन्सिलर उम्मेदवार फराह कमरनले ९ सय ८३ मत प्राप्त गरि विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी कन्जर्भेटिभ पार्टीको उम्मेदवारले ७ सय ६९ मत प्राप्त गर्नुभएको थियो ।

ईङ्ल्याण्डमा १४६ काउन्सिलमा ४ हजार ३ सय भन्दा बढी काउन्सिलरको लागि बैशाख २२ गते अर्थात मे ५ तारिकमा स्थानीय निर्वाचन भएको हो । लण्डनको ट्विकेनहैम रग्बी स्टेडियममा लण्डन बरो अफ हउन्स्लोको सम्पुर्ण मतगणना भएको थियो । उक्त काउन्सिलमा ५२ जना लेबर काउन्सिलर तथा १० जना कन्जर्भेटिभ काउन्सिलर बिजयी भएका छन । मतगणना स्थलमा मिडिया रपर्यवेक्षकको रूपमा पत्रकार एभरेष्ट गौतम समेत सहभागी रहेका थिए ।

मेयर बिष्णु गुरुङ

रिटायर ब्रीटिश आर्मीबाट वेलायतको राजनीतिमा प्रवेश गर्नुभएको उहाँ यसअघि सन २०१४–१५ का लागि लण्डन बरो अफ हउन्स्लोमा उप मेयर तथा सन २०२१–२२ का लागि उक्त बरोमा ५६औं मेयर बन्नुभएको हो । मेयरको एक बर्षको कार्यकाल मे महिनाको अन्तिम तिर सकिदैछ ।

बेलायतमा अधिकांस काउन्सिलमा मेयर तथा उप मेयरको छनोट उक्त बरोमा रहेका काउन्सिलरहरुको बहुमतबाट हुने गर्द्छ। यसरी छनोट हुने मेयर तथा उप मेयरहरु प्रत्येक एक बर्षका लागि हुने गर्दछ । प्रत्येक्ष चुनावबाट निर्वाचित मेयर तथा उप मेयर भने ४ बर्षका लागि हुने गर्दछ । यो विजयसंगै काउन्सिलर बिष्णु गुरुङलाई पुनः मेयर बन्नको लागि ढोका खुल्ला भएको छ । तर उहाँ तत्काल प्रतिस्पर्धामा गएर पुनःमेयरको दाबी गर्ने पक्षमा भने देखिनुभएको छैन ।

पेशाले उहाँ बस ड्राईभर हो । राजनीति उहाँको सामाजिक सेवा तथा प्रतिष्ठासँग जोडिएको बताउँदै आउनुभएको छ । साथै उहाा सेवारत तथा रिटायर ब्रीटिश आर्मीको लागि “द आर्मी फोर्स च्यारिटी” मार्फत सहयोग गर्दै आउनुभएको छ । चुनाव प्रचारप्रसारको क्रममा सहयोगी तथा शुभ चिन्तक सम्पुर्णलाई उहाँले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।