जनता टाइम्स

२७ असार २०७६, शुक्रबार १८:४६

एक लाख घुसको रकमसहित चार प्रहरी अख्तियारको फन्दामा


काठमाडौं, असार २७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको सामाखुसीबाट एक लाख रुपैयाँ घुससहित चारजना प्रहरीलाई पक्राउ गरेको छ । सामाखुसीस्थित एउटा मिठाई पसलमा बिमाको रकम दावीका लागि आवश्यक कागजात बनाइने दिने भन्दै सेवाग्राहीसँग घुसको रकम लिने चार जनालाई नियन्त्रणमा लिएको अख्तियारले जानकारी दिएको छ ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार घुस लेनदेन भइरहेको जानकारी पाएपछि त्यहा पुग्दा उनिहरुलाई रंगेहात पक्राउ गरिएको जानकारी दिनुभयो । अख्तियारको टोलीले छापा मारेर ट्राफिकका तीनजना र दुई नम्बर गणका एकसहित चारजना प्रहरी जवानलाई पक्राउ गरेको हो । पक्राउ परेका प्रहरीको नाम खुलाइएको छैन।

उनीहरुले बिमा रकम दाबीका लागि सवारी दुर्घटना प्रमाणित गर्न कागजात बनाइदिन एकजना सेवाग्राहीबाट उक्त घुस लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।