जनता टाइम्स

२७ असार २०७६, शुक्रबार १९:१६

बाढी–पहिरोको कहर : १७ जनाको मृत्यु, ७ बेपत्ता


काठमाडौं, असार २७

बिहीबार रातिबाट अविरल परेको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरमा १७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ पौने सातबजेसम्म ७ जना बेपत्ता भएका छन् ।

काठमाडौंको मुलपानीस्थित बाबा चोकमा पर्खाल भत्किएर घर किच्दा तीनजनाको ज्यान गएको छ । का्रभेमा पहिरोले घर भत्कँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ । भोजपुरमा अविरल वर्षाको कारण घर भत्किँदा र चर्पी बगाउँदा दुईजनाको ज्यान गएको छ । पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । मकवानपुरको थाहा नगरपालिका–३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको छ । सिन्धुलीमा पहिरोले गोठ बगाउँदा एकजनाको मृत्यु भएको छ भने दर्जनौँ घरमा क्षति पुगेको छ ।

ललितपुरको बागमती नगरपालिका–३ मा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । महोत्तरी बलवा नगरपालिका–२ बदियाका ७० वर्षीय वृद्धको बाढीले बगाएर मृत्यु भएको छ । धादिङमा पहिरोले घर लडाउँदा बालिकाको मृत्यु भएको छ । यसैगरी प्रहरीका अनुसार पाँचथर, इलाम, मोरङ, सुनसरी, महोत्तरी, रौतहट र काठमाडौंमा एक एक जना बेपत्ता भएका छन् ।