जनता टाइम्स

२७ असार २०७६, शुक्रबार २०:०९

भक्तपुरबासी सावधान ! हनुमन्ते खोलाले मच्चाउन सक्छ बितण्डा


बर्षासँगै उर्लिएको हनुमन्ते बस्तीमा पस्यो, एक बगायो, दुई पुल भासियो

रमेश गिरी/भक्तपुर

अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान सुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सर्तकतामा रहन आग्रह गरेको छ भने नदी किनारामा बसेका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले हनुमन्तेमा बाढी बढेकाले नदी आसपासका बासिन्दालई उच्च सर्तकतामा रहन आग्रह गरेको बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ, प्रजिअ सहित नेपाली सेना, प्रहरी सहितको टोलीले डुबानको जोखिममा रहेको क्षेत्रहरुको अनुगमन समेत गरेको छ ।उहाँले भन्नुभयो—“हनुमन्ते नदी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेका छौ, बाढी बस्तीमा पसेमा तत्काल उद्धार गर्न नेपाली सेना, प्रहरी लगायतको विपद व्यबस्थापनका टोली समेतलाई तयारीमा राखेका छौ, नेपाली सेनाका टोली जोखिम रहेको ठाउँमा परिचालन भएका छन् ।”

नदी थुनिएको ठाउँहरुमा नेपाली सेनाको टोलीले खोला खोल्ने काम गरिरहेका छन् । बाढी भक्तपुर नगरपालिकाको सूर्यविनायक राम मन्दिर, बाराहीस्थान, मध्यपुरथिमिको राधेराधे, शंखधर चोक, सूर्यविनायक नगरपालिकाको बालकोट, चारदोबाटो लगायतका क्षेत्रमा बाढी बस्तीमा पस्न थालिसकेका छन् । शंखधर चोकबाट दधिकोट जाने पुल भासिएको छ । मध्यपुरथिमि नगरपालिकाका बिस्कुट कारखाना, तरकारी बजार लगायतका क्षेत्र डुबानमा परेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रही सहित अन्य स्वयंसेवकको टोलीहरु भक्तपुरमा आईपर्ने विपदमा हुने जोखिम न्यूनिकरणका लागि उच्च सतर्कतामा रहेका छन् । प्रतिनिधीसभाका सांसद महेश बस्नेतको पहलमा यसवर्ष २० लाख रुपैयाको विपद व्यबस्थापन एवं उद्धार सामाग्रीहरु खरिद गरेर उद्धारको तयारीमा तयारीमा राखेको छ । गतवर्ष असार २८ गते परेको भिषण वर्षाका कारण आएको बाढीले भक्तपुर नगरपालिकाको जगातीदेखि सल्लाघारीसम्म, मध्यपुरथिमि नगरपालिकाको राधेराधे क्षेत्र कमरोटार क्षेत्र, मध्यपुर अस्पताल, शंखधर चोक, अरनिको राजमार्ग, सागबारी, सूर्यविनायक नगरपालिकाका कटुञ्जे, बालकोट लगायतका क्षेत्रमा हनुमन्तेको बाढी पस्दा सयौ घर डुबानमा पर्नुका साथै करोडौंको क्षति भएको थियो ।

यसवर्ष हनुमन्ते करिडोर निर्माण सुरु भएसंगै हनुमन्तेको बाढी बस्तीमा नपस्ने आशामा बसेका यहाँका बासिन्दाहरु भूमाफियाको चलखेलमा हनुमन्ते करिडोर निर्माण रोकिएर थप समस्या आएको हो । सांसद बस्नेतले बाढीको जोखिममा रहेका क्षेत्रहरुको अनुगमन गर्दै हनुमन्ते करिडोर निर्माण रोकिदा थप समस्या आएको बताउनुभयो । उहाँले हनुमन्ते करिडोर निर्माण रोकिएकै क्षेत्रमा पानीको बहाब फर्किएर गएको पाईएको बताउदै जोखिम न्यूनिकरण गर्ने आवश्यक पहल भईरहेको बताउनुभयो ।

२०७५ मंसिरदेखि हनुमन्ते करिडोरको निर्माण कार्य सुरु भई असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको हनुमन्ते करिडोर निर्माण असार लागे लगत्तै भूमाफियाको चलखेलमा रोकिएको छ । मध्यपुर थिमी नपा ३ र सुर्यविनायक नपा ३ मा पर्ने चारदोबाटो क्षेत्रमा निर्माण कार्य पुगेपछि २०२१ सालको नापी नक्सा अनुसार खोला बग्न दिन हुन्न भन्दै भूमाफियाहरुले अबरोध पुर्याएपछि करिडोर निर्माण रोकिएको बालकोटमा रामशरण श्रेष्ठले बताउनुभयो । आज आएको बाढी करिडोर निर्माण रोकिएकै ठाउँबाट फर्किएर बस्तीमा बस्न थालेको बताउदै यसबाट हुने क्षतिको जिम्मेवारी रोक्ने व्यक्तिहरुले लिनुपर्ने बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिका क्षेत्रमा ब्लक कारखानाले पर्खाल लगाएर दुईदशकदेखि कब्जा गर्दै आएको करोडौको मूल्य पर्ने सात रोपनी सार्वजनिक जग्गा झिक्न पर्खाल भत्काएपछि भूमाफियाको चलखेलमा हनुमन्ते करिडोरको काम रोकिएको स्थानीयको गुनासो छ । जग्गा धनीको सहमति अनुसार सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले संयुक्त रुपमा तयार पारेको नक्सांको आधारमा दीर्घकालिन रुपमा समस्या समाधान गर्नेगरि नदीको बहाबलाई व्यवस्थित गर्दै जग्गाको विवाद ल्याण्डपुलिङ्गको माध्यमबाट समाधान गर्ने, अतिक्रमण भएका सार्वजनिक जग्गाहरु फिर्ता गरि व्यबस्थित गरिने सहमति अनुसार करिडोर निर्माण भएपछि एक महिनादेखि रोकिएको छ ।

त्यसैगरि हनुमन्ते खोलामा आएको बाढीले बगाएको एक युवाको प्रहरीले उद्धार गरेको छ । सूर्यविनायक नगरपालिका २ बालकोटस्थित हनुमन्ते खोला किनारमा हिडिरहेको अवस्थामा काभ्रे कोशीपारी घर भई हाल बालकोटमा ३२ वर्षीय सन्तोष पहरीलाई उर्लिएर आएको बाढीले बगाएको थियो । खोलाले बगाए लगत्तै महानगरीय प्रहरी प्रभाग बालकोट भक्तपुरको प्रहरी टोली र स्थानियको सहयोगमा उद्दार गरी नागरिक अस्पताल गठ्ठाघरमा आईसियूमा उपचार भईरहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । घाईतेको अबस्था गम्भिर भएको उहाँले जानकारी दिनुभयो ।

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरको र मध्यपुर थिमिको बासिन्दाको जनजीवन कष्टकर बनेको छ । हनुमन्ते खोलाको किनारामा रहेका बस्तीका बासिन्दाहरुले बस्ती छाडेर सुरक्षित स्थानमा जान थालेका छन् । हनुमन्तेको बहाब बढेर बस्तीमा पानी पस्न थालेपछि जगाती, हनुमानघाट, चुपिनघाट, सल्लाघारी, राधेराधे, बालकोट, सागबारी लगायतका क्षेत्रमा टहरामा बस्दै आएका बासिन्दाहरु सुरक्षित स्थान तर्फ गएको प्रहरीले जानकारी दिएको छ ।

खोला किनाराका सयौ घरमा बाढी पसेपछि यहाँका बासिन्दाले बस्ती छाडेका हुन् । बालकोटको नयाँ बेलिब्रिज र मध्यपुरथिमि दधिकोट जोड्ने हनुमन्ते पुल भासिएर भत्कने अबस्थामा पुगेको छ ।