जनता टाइम्स

२८ असार २०७६, शनिबार ०७:३३

मध्यराती खस्यो त्रिसुलीमा ट्रक, सहचालक बेपत्ता


चितवन, असार २८ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट त्रिशूली नदीमा ट्रक खसेको छ। गए राति १ः३० बजेको समयमा भैरहवाबाट दाना बोकेर काठमाडौँं जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो। त्रिसुलीमा ट्रक खस्दा ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन्।

ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । गाडीका चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। ट्रक पूरै पानीमा डुबेको र नदीमा बाढी आएका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ।