जनता टाइम्स

२८ असार २०७६, शनिबार ०८:५१

चार दिनको प्रयासपछि अस्पतालबाट शिशु चोरेर गायब


पाल्पा, असार २८

लुम्बिनी मेडिकल कलेज, प्रभासबाट गएराति एक शिशु हराएको छ । एक महिलाले सो शिशु चोरेर लगेको सिसिटिभी फुजेटमा स्पष्ट रुपमा देखिएको छ । प्रहरीले सुनियोजित रुपमै शिशु चोरिएको जनाएको छ ।

शिशु लिएर हिँड्ने महिला तीन–चार दिन अघिदेखि नै अस्पताल वरपरि हिँडडुल गरेको स्थानीयले देखेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । शिशु चोर्ने महिला सीसी क्यामेराको भिडियोमा देखिएको र त्यही भिडियोका आधारमा उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण सापकोटाले भेटिएको फोटो र भिडियो फुटेज काठमाण्डौ पठाउने र त्यसैका आधारमा खोजबिन गर्ने जानकारी दिनुभयो ।

अस्पतालको कुनै पनि सीसी क्यामेराले काम नगरेको र शुक्रबार ३ बजे हराएको शिशुका बारेमा प्रहरीलाई ५ बजे मात्रै खबर हुँदा पनि खोजबिनमा समस्या भएको प्रहरीले जनाएको छ । अस्पताल छेउमा रहेको होटेलको सीसीटीभी फुटेजमा भने अस्पतालबाट शिशु चोरेर हिँडेकी महिला देखिएकी छिन् । अस्पतालका कर्मचारीको समेत लापर्वाही देखिएको स्थानीयले गुनासो गरेका छन् ।