जनता टाइम्स

२८ असार २०७६, शनिबार १२:४७

सिंघही खोलामा डुबेर १० वर्षीय बालकको मृत्यु


पर्सा, असार २८

पर्सागढी नगरपालिकामा रहेको सिंघही खोलामा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ । खोलामा बगेर आएको दाउरा झिक्न खोलामा पसेका नगरपालिकाको वडा नं १ निवासी मेघराज पटेलका छोरा निखिर पटेलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि वीरगञ्जको नारायणी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो । यता चार दिनदेखि परेको अबिरल वर्षाको कारण जिल्लाको अधिकांश भाग डुबानमा परेको छ ।

लगातार परेको वर्षाले खोलाको पानी बस्तीमा प्रवेश गरेपछि सर्वसाधारणको जनजीवन प्रभावित भएको छ । वीरगञ्जको रानीघाट, श्रीपुर, राधेमाई, मुर्ली, नगवा, छपकैया, सिर्सियालगायतका स्थानमा रहेको खोला छेउका बस्ती जोखिममा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय लगायतका धेरै सरकारी कार्यालयमा पनि वर्षाको पानी पसेको छ । वर्षाको पानीबाट प्रभावित भएका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई परिचालित गरी रहत तथा उद्धारका कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।