जनता टाइम्स

२८ असार २०७६, शनिबार १२:४४

बाढीले भत्कायो औरही खोलाको निर्माणधीण पुल


धनुषा, असार २८ । लगातारको वर्षाका कारण बाढी आउँदा धनुषामा निर्माणाधीन पुल भत्किएको छ । क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलाको निर्माणाधीन पुल बाढीले भत्काएको हो ।

रोशन कन्ट्रक्सनले विगत ६ वर्षदेखि निर्माण गर्दै आएको सो पुल निर्माणाधीन अवस्थामै भत्किएको हो । अविरल वर्षासँगै आएको बाढीले गएराती निर्माणाधीन पुल भत्केको स्थानीय प्रशासनले जनाएको छ । स्थानीयबासी भने गुणस्तरहीन सामग्रीको प्रयोग गरेकाले पुल भत्केको बताउँछन । पुलको झण्डै ६ वर्ष अघि वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले शिलान्यास गर्नुभएको थियो । पुल भत्किएपछि त्यस क्षेत्रको बाटो अवरुद्धसमेत भएको छ ।

यता बुधबार रातिदेखि परेको अविरल वर्षाले जनकपुर जलमग्न भएको छ । वर्षाको पानी निकास हुन नसक्दा सडक र घरघरमा तीन फिटसम्म पानी जमेको छ । जनकपुरका प्रायजसो सबै सरकारी कार्यालय डुबानमा परेको छ । मुख्यमन्त्री कार्यालय, विमानस्थल, अञ्चल अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, हुलाक कार्यालय, वन निर्देशनालय, जिल्ला विकास समन्वय कार्यालय, जिल्ला ट्राफिक कार्यालय, राष्ट्रिय समाचार समितिलगायतका कार्यालय डुबानमा परेका छन ।

जनकपुर डुबानमा परेपछि मानिसलाई घरभित्रै बस्न र बाहिर निस्किन समेत समस्या भएको छ । नगरमा पानी जलमग्न भएपछि पठनपाठनसमेत ठप्प भएको छ । वर्षा र डुबानको कारण सर्वसाधारण कष्टकर जीवन जिउन बाध्य भएका छन । बिगत केही दिनयता आएको बर्षाले धनुषाका अधिकांश क्षेत्र प्रभावित भएका छन ।