जनता टाइम्स

२८ असार २०७६, शनिबार १३:२४

अबिरल वर्षाका कारण झापामा २०२ घर डुबानमा, केही विस्थापित


झापा, असार २८

तीन दिनयता आएको अबिरल वर्षाका कारण झापाका विभिन्न स्थान जलमग्न बनेका छन् । वर्षाका कारण सयौँ घर डुबानमा परेका छन् भने केही विस्थापित समेत बनेका छन् । खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

झापा गाउँपालिका–१ को मिलनबस्तीमा कनकाई नदीको बाढी बस्तीमा पस्दा ७८ घरधुरी प्रभावित भएका छन् । घरमा पानी पस्दा स्थानीयवासीको दैनिकी कष्टकर बनेका छ । कनकाई नगरपालिका–६ स्थित विजनी खोल्साको पानी भरिएर बाँसको बाँध फुटाएर नजिकैको शिवाकोटी गाउँ, मन्सापुर, चम्पापुरका ११० घरधुरीमा पानी पसेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

यस्तै, गौरीगञ्ज गाउँपालिका–१ को कुञ्जीबारी पूर्वको सन्थालबस्ती कनकाईको बाढीले डुवानमा र कोरोबारी आपगाछीका नौ घरपविार विस्थापित भएर आफन्तकामा आश्रयमा रहेका रेडक्रसका सभापति लोकराज ढकालले बताउनुभयो । मेचीनगर–१४ दुहागडीका ४१ वर्षीय सुफल हस्दा खोलाले बगाएर बेपत्ता छन् ।  शारीरिक रुपमा अपाङ्गता भएका उहाँलाई फुलवासा खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएको हो ।

मेचीनगर–५ मा मेची नदीमा आएको बाढी बस्तीमा पस्दा १२५ घरधुरी प्रभावित भएका छन् । शिवसताक्षी–३ मा ताराबारीमा कनकाई नदीमा आएको बाढी पस्दा १४ घरपरिवार डुबान भएको रेडक्रसले जनाएको छ । कनकाई, बिरीङ, मावा, टाङ्टिङ, कमल, बनियानी लगायतका नदी तथा खोलामा पानीको बहाव घट्दै गएको छ ।