जनता टाइम्स

२८ असार २०७६, शनिबार १७:०४

कोशी ब्यारेजको ढोका बन्द गर्न भारतको चर्काे दबाब


सुनसरी, असार २८ । नेपालले पटक–पटक आग्रह गर्दा पनि बाढीले बाँध नभत्काएसम्म ढोका बन्द गरेर रौतहट डुवानमा पारेको भारतले बिहारमा बाढी आएको भन्दै सप्तकोशीको ढोका बन्द गर्न दवाव दिएको छ । सप्तकोशीमा पानीको बहाव निकै माथि पुगेपछि खोलिएको ढोका बन्द गर्न भारतले दवाव दिएको हो ।

सप्तकोशीमा अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन । तर भारतले बिहार जलमग्न भएको जनाई ती ढोकाहरु बन्द गर्न दबाब दिइरहेको हो । सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले सञ्चारमाध्यमलाई बताएअनुसार भारतले पटक पटक ढोका बन्द गर्न दवाव दिएको छ ।

लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ईश्वरी दाहालले जानकारी दिनुभयो ।

वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ । स्थानीय प्रशासनले तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गर्दै सवै निकायलाई तयारी अवस्थामा राखेको छ ।

यसैबीच आज प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ । अवलोकनको क्रममा उहाँले प्रदेश सरकार राहत र उद्धारमा कुनै कमजोरी नहुने गरी अघि बढेको भन्दै संभावित दुर्घटनाबाट जोगिन सतर्क रहन प्रदेशबासीलाई आग्रह गर्नुभयो ।