जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार १७:१८

५० लाख जित्ने ट्यालेन्ट हन्टको अडिसन खुल्ला, यसरी जनाउन सकिन्छ सहभागिता


काठमाडौं, जेठ २ । नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरू भएको छ । आयोजक साइना साहारा ग्रुपले ट्यालेन्ट हन्टमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने जनाएको छ ।

ट्यालेन्ट हन्टका निर्माता टेकप्रसाद बाँस्तोलाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी आदि विधामा प्रतिभा प्रस्तुत गर्न सक्नेछन् । रियालिटी सो को निर्णायको रुपमा गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल रहनुभएको छ । साइना साहारा ग्रुपको प्रस्तुति रहेको यस सोका निर्माता टेकप्रसाद बाँस्तोला रहनुभएको छ भने निर्देशकमा हरि शर्मा र प्रोग्राम हेडमा सहदेव कोइराला हुनुहुन्छ ।

सोको विजेताले ५० लाखदेखि विभिन्न अवसर प्राप्त गर्नसक्ने आयोजकले जनाएको छ । योबाहेक सम्बन्धित विधामा विजेता बन्ने प्रतियोगीले फिल्म, टेलिसिरियल, म्युजिक भिडियो आदिमा पनि अवसर पाउने छन् ।

अडिसनमा सहभागी हुन चाहने प्रतियोगीले १५ सेकेन्डदेखि तीन मिनेटसम्मको भिडियो बनाइ आयोजकको उल्लेख गरेको ठेगानामा पठाउनु पर्नेछ । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दै लैजानु पर्नेछ । असोजमा विजेताको छनोट गरिने आयोजकले जनाएको छ ।