जनता टाइम्स

२९ असार २०७६, आईतवार ११:१४

खैरेनीमा चरी बाघको आतङ्क


कञ्चनपुर, असार २९

भीमदत्त नगरपालिका–६ खैरेनीमा केही दिनदेखि चरी बाघ (लिओपार्ड क्या) ले आतङ्क मच्चाएको छ । बाघले गोठमा पसेर स्थानीयका बाख्रा खान थालेको छ । चरी बाघ संरक्षित वन्यजन्तुको सूचीमा समावेश गरिएको जनावर हो । खैरेनीका हिरा धानुकले केही दिनदेखि चरी बाघले गोठमा पसेर तीन बाख्राका पाठा खाइसकेको बताउनुभयो ।

“हेर्दा रातो पाटो देखिन्छ । राति आउँछ, हल्ला गरेपछि भागेर जान्छ”, उहाँले भन्नुभयो । स्थानीयवासीका अनुसार मानबहादुर रावल र खगेन्द्रका दुई/दुई तथा हरिना पाण्डेको एक बाख्रा खाएको छ । अन्य सात बाख्रा दाह्रा लगाएर घाइते बनाइएका छन् । जिल्ला वन कार्यालयको प्राविधिक टोलीले शनिबार स्थलगत निरीक्षण गरी चरी बाघले पुर्याएको क्षतिको जानकारी लिएको छ ।

जिल्ला वन कार्यालयका सहायक अधिकृत जीवछ यादवले स्थानीयवासीले दिएको जानकारीका आधारमा स्थलगत निरीक्षण गरिएको बताउनुभयो । “गाउँबाट सूचना आएपछि त्यहीँ पुगेर जानकारी लिएका छौँ । बाख्रा खाएको पनि हेर्यौँ”, अधिकृत यादवले भन्नुभयो, “तर बस्तीमा बाघ त नआउनुपर्ने हो, कहाँबाट कसरी आयो, अचम्ममा छौं ।”