जनता टाइम्स

२९ असार २०७६, आईतवार १९:५६

केन्द्र तोक्नसाथ गाउँसभामा एकाएक ढुंगामुढा, हेलिकोप्टरबाट नेपालगञ्ज पठाइयो घाइते


मुगु, असार २९ । खत्याड गाउँपालिकाको पाँचौ गाउँसभाको बहुमतले वडाको केन्द्र तोकेपछि असन्तुष्ट पक्ष र निर्णायक पक्षबीच झडप भएको छ । निर्णय आफनो पक्षमा नभएको भन्दै असन्तुष्ट पक्षले विरोध गरेपछि दुईपक्षबीच झडप भएको हो । वडाको केन्द्र बिवादमा भएको झडपमा दुई जना गम्भीर घाइते भएका छन ।

खत्याड गाउँपालिकाको पाँचौ गाउँसभालले गाँउपालिकाको ३, ६, ७, ९ र १० वडाको केन्द्र स्थापना गर्ने प्रस्ताव बहुमतबाट पास गरेको थियो । निर्णयमा आपत्ति जनाउँदै वडा नम्बर ३ रोलगाउँका युवाले गाउँपालिकाको सभा सञ्चालन भइरहेका बेला ढुङ्गामुढा गरेका हुन । ढुंगामुढा गरेपछि दुई पक्षबीच झडप भएको हो । त्यसक्रममा खत्याड गाउँपालिका ७ कि ३२ वर्षीया गाउँ कार्यपालिका सदस्य उम्मकला भियाल र वडा नम्बर ४ का कार्यालय सहयोगी २८ वर्षिय गणेश थापा घाइते भएका छन ।

शनिबार पाँचौ गाउँसभाले वडा नम्बर ३, ६, ७, ९ र १० को वडा केन्द्र प्रस्तावित स्थानमा कायम गरिने बहुमतबाट निर्णय गरेको थियो । अन्य वडामा कुनै विवाद नरहे पनि वडा नम्बर ३ मा बिवाद देखिएको हो । खत्याड गाउँपालिका ३ को वडा केन्द्र सोही वडाको रोलगाउँको भाडटुकुरीमा कायम गर्न स्थानीयबासीले माग गरेका थिए । तर गाउँसभाले हाल वडा कार्यालय रहेको वडा नम्बर ३ को रानकोटमा वडा केन्द्र कायम गरेको छ । घाइते दुबैजनालाई शनिबार खत्याड गाउँपालिका ४ माथिचौरमा रहेको निजी मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि आज सिम्रिक एयरको हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको छ ।