जनता टाइम्स

३० असार २०७६, सोमबार १३:०८

बिप्लव समुहसँगको भिडन्तमा मारिएका प्रहरी जवान संजिव राईको शव ६ दिनदेखि धरानमै अलपत्र


धरान, असार ३० । भोजपुरमा विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुको मुठभेडमा ज्यान गुमाएका प्रहरी जवान संजिव राईको शव धरानमा अलपत्र परेको छ । सरकारले संजिवको शव उनको घर खोटाङको हलेसी तुवाचुङ नगरपालिका स्थित बाहुनीडाँडामा नलगिदिएपछि ६ दिनदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको हो ।

सरकारले शव नलगिदिएपछि काजक्रिया समेत रोकिएको छ । असार २५ गते भोजपुर सदरमुकाम स्थित हटियाको पाँचधारे होटलमा विप्लव कार्यकर्तासंगको मुठभेडमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी जवान संजिव राई र विप्लव कार्यकर्ता निरकुमार राईको मृत्यु भएको थियो । घटना पश्चात संजिवको शव पोष्टमार्टमका लागि धरान ल्याइए पनि प्रहरीले आजसम्म शव परिवारको जिम्मा लगाएको छैन। संजिवको शव लिनका लागि उनकी श्रीमती नमुना, भाइ खडिन्द्र राई, बहिनी चन्द्रमाया र दुई नाबालक छोराहरु धरान आउनुभएको छ ।

खराव मौसमका कारण खोटाङ जाने मोटर बाटो अबरुद्ध भएपछि परिवारले सरकारसंग हवाई मार्गबाट संजिवको शव घर पुर्याइदिन अनुरोध गरेको थियो । ६ दिनदेखि शव सहित परिवारका सदस्य धरानमा अलपत्र परेर बस्नु परेको संजिवका भाइ खडेन्द्रले गुनासो गर्नुभयो । उहाँले वृद्ध बाबुआमा र अन्य दाजु भाइ खोटाङमै भएकाले दाजुको शव घरमै लगी अन्तिम संकार गर्ने आमाबुवाको आग्रह रहेको जानकारी पनि दिनुभयो ।

छोरासहित धरान आउनुभएकी संजिवकी पत्नी नमुना पतीको मृत्युका कारण भावविह्वल अवस्थामा हुनहुन्छ । त्यसमाथि पतिको अन्तिम काजक्रियासमेत गर्न नपाएको पीडाले थप सताएको छ । आफन्तले संजिवको शव तत्काल खोटाङ पुर्याइदिन र काजक्रिाया गर्ने सहज वातावरण मिलाइदिन सरकारसंग माग गरेका छन् ।

सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेल भने खराव मौसमका कारण पठाउन नसकिएको बताउनु हुन्छ । नेपाली सेनाको हेलिकप्टरबाट शव खोटाङ लैजाने तयारी गर्दा खराव मौसमका कारण कठिनाई भएको पोखरेलको भनाई छ ।