जनता टाइम्स

२१ जेष्ठ २०७९, शनिबार १९:४६

प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो अधिवेशन बोस्टनमा, को होला अध्यक्ष ?


ल्यानक्यास्टर, २१ जेठ । प्रवासी नेपाली मञ्चको तेस्रो अधिवेशन जुन १७ देखि १९ तारिक सम्म बोस्टनमा हुने भएको छ । मञ्च नेकपा एमालेको विदेश स्थित शुवेच्छुक संस्था हो । तीन दिने अधिवेशनमा अमेरिकाका विभिन्न राज्य कमिटीका एक सय ५० जना डेलिकेड्सहरुले नयाँ नेतृत्व चयन गर्ने छन् । मञ्चले अमेरिकाको २६ राज्यमा आफ्नो कमिटी विस्तार गरेको छ । मञ्चका अध्यक्ष प्रभु थापाका अनुसार जुन १७ तारिक वर्तवान कमिटीको अन्तिम बैठक बस्नेछ।

१८ तारिक अधिवेशनको उद्द्धाटन र नयाँ नेतृत्व चयन हुनेछ । अन्तिम दिन १९ तारिक नव निर्वाचित कमिटीको बैठक बस्ने छ । सन् २०१३ मा न्यूयोर्कमा पहिलो अधिवेशन गर्दै सञ्जय थापालाई अध्यक्षको जिम्मेवारी दिएको मञ्चले तीन वर्ष पछि सन् २०१७ मा दोस्रो अधिवेशन गरेको थियो । बाल्टिमोरमा भएको दोस्रो अधिवेशनले प्रभु थापालाई अध्यक्षमा चयन गरेको थियो ।

नियमित समय अनुसार सन् २०२० मा नै मञ्चको तेस्रो अधिवेशन हुनुपर्ने भएपनि कोरोना महामारीका कारण अधिवेशन सर्दै आएको थियो । संगठन १९९८ मा स्थापना भएको तर विभिन्न समयमा नाम परिवर्तन हुदै आएको छ । शुरुमा एन डि एफ, यूएनडिएफ हुँदै २०१२ मा ओएनएफ वने पछिको पहिलो अधिवेशन २०१३ मा न्यूयोर्कमा भएको थियो ।

को हुदै छ प्रवासी मञ्च अमेरिकाको तेस्रो अध्यक्ष ?

मञ्चका वर्तमान अध्यक्ष प्रभु थापाले आफुले कुनै पनि पदमा दोहोर्याउने इतिहास नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘म दावी गर्दिन, कुनै पनि ठाँउमा दोहोर्याउने गरेको छैन, यसै पनि यही कार्यकाल दुई वर्ष बढी भयो कोरोनाका कारण ।’ उहाँले थप्नुभयो,‘पहिला राष्ट्रिय स्तरका मात्र कमिटीहरू थिए अहिले महादेश र अन्तर्राष्ट्रिय कमिटीहरू पनि छन्, म अहिले पनि अन्तर्राष्ट्रिय कमिटीको सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख छु, यही नोभेम्वरमा अन्तर्राष्ट्रिय कमिटीको पनि अधिवेशन हुँदैछ अब मेरो यात्रा त्यता हुन्छ, माथिल्लो कमिटीको नेत्रित्व लिने प्रयासमा छु ।’

थापाले मैदान छोडे पछि नेतृत्वमा हालका न्यूयोर्कमा बस्दै आउनुभएको सचिव कृष्ण लामिछाने सर्वसम्वत हुने सम्भावना भने बढेर गएको छ । ‘अध्यक्षमा हालका उपाध्यक्ष गोपाल कणेल र सचिव कृष्ण लामिछानेको ईच्छा देखिन्छ तर हामी दोस्रो राष्ट्रीय अधिवेशन जस्तो प्यानल बनाएर प्रतिस्पर्धामा जादैनौं सर्वसम्मतिमा नेतृत्व चयन हुने कुरामा म पूर्ण विश्वास्थ छु,’ उहाँले भन्नुभयो । विधानले राष्ट्रिय कमिटी ३५ जना सम्मको कार्यसमिति बनाउने अधिकार दिएको छ ।

जसमा एक अध्यक्ष, चार उपाध्यक्ष र एक एक सचिव र उपसचिव रहेका छन् । यतिबेला अध्यक्ष पछिको शक्तिशालि पद सचिवका लागि टेक्सासका गोकर्ण दाहाल र आयोवाका छवी पाण्डे चर्चामा हुनुहुन्छ । अधिवेशनका लागि नेकपा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई प्रमुख अथिति रहनुहुने बताइएको छ । यस्तै विषेश अतिथिमा पूर्व परराष्ट्रमन्त्री तथा चीनका लागि नेपाली पूर्व राजदुत महेन्द्र पाण्डे र एमाले संसदीय दलकी सचेतक सांसद शान्ता चौधरी अतिथि हुने पक्का भएको छ ।