जनता टाइम्स

१ श्रावण २०७६, बुधबार ०८:५५

खलासी जस्तै देखिएको भन्दै प्रिन्सिपलले कार्यकक्षमा बोलाएर कुटे शिक्षक


भोजपुर, साउन १

भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपलले एक शिक्षकलाई खलासी जस्तो देखिएको भन्दै कुटपिट गरेका छन् । प्रिन्सिपल रमेशकुमार आलेले विद्यालय समयमा टाइ र कोट नलगाएको भन्दै शिक्षक अतित अधिकारीमाथि हातपात गरेका हुन्।

‘आइतबार विद्यालयको पहिलो त्रैमासिक परीक्षाको नतिजा प्रकाशित गर्ने दिन थियो। पढाइसकेपछि म स्टाफ रुममा टाइ र कोट झुण्ड्याएर जान्थे भोलिपल्ट विद्यालय समयमा लगाएर आउँथे, हिजो खाना खाएर सर्ट र पेन्ट लाउँदै गर्दा सहयोगीमार्फत बोलाउनुभएको खबर आयो उहाँको चेम्बरमा गएँ खलासीजस्तो भएर आउने भनेर गाली गर्नुभयो, म कसैको गाली खान आको हैन मलाई खलासी नभन्नुहोस् भन्दा एक्कासी वाहिर प्यासेजमा ल्याएर कुट्नुभयो’, पीडित अधिकारीले घटनाका बारेमा यसरी सुनाउनु भयो ।

यो भन्दाअघि पनि पटकपटक धम्की दिने गरेको भन्दै उहाले आफूलाई हातले गालामा र ढाडमा कुटपिट गरेको दावी गर्नुभएको छ । पाँच महिनादेखि सो विद्यालयमा कक्षा ७ देखि १० सम्म अनिवार्य गणित र ऐच्छिक गणित विषय पढाउने अधिकारीले आफुलाई नियुक्ति पत्र पनि नदिएको बताउनु भएको छ । अधिकारी अहिले न्यायका लागि प्रहरी प्रशासन, पत्रकार गुहारिरहनु भएको छ ।

यता शिक्षक अधिकारी माथि कुटपिट गरेको आरोप लागेका रमेशकुमार आलेले भने शिक्षकको व्यवहार नै अस्वभाविक भएकोले विद्यार्थी र अभिभावकबाट समेत गुनासो आएको बताउनु भयो । विद्यालयमा टोलाउने, काम नगर्ने भएको कारण सम्झाएको मात्र उहाको दावी छ ।