जनता टाइम्स

१ श्रावण २०७६, बुधबार ११:३३

चेलिबेटी बेचविखनमा ३७ वर्ष जेल सजाय पाएका कांग्रेस नेता तामाङलाई उच्च अदालतको क्लिन चिट


उच्च अदालत पाटनका न्यायाधिशद्वय रमेशबहादुर थापा र हरिप्रताप केसीको सयुक्त इजलासले पुनरावेदनको जिकिर नपुग्ने भन्दै तामाङलाई सफाई

काठमाडौं, साउन १

चेलिबेटी बेचविखनमा जिल्ला अदालतले दोषी ठहर गरेका नेपाली कांग्रेसका नुवाकोटका नेता सुनबहादुर तामाङलाई उच्च अदालत पाटनले उल्टाईदिएको छ । दुप्चेश्वर गाउँपालिका–१ का वडा अध्यक्ष सुनबहादुर तामाङलाई सफाई दिदै थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधिशद्वय रमेशबहादुर थापा र हरिप्रताप केसीको सयुक्त इजलासले असार ३० गते पुनरावेदनको जिकिर नपुग्ने भन्दै तामाङलाई सफाई दिएका हुन् । उनीविरुद्ध तीनजना पीडित महिलाले सिआइबीमा जाहेरी दिएपछि उनी गत पुष ७ गते पक्राउ परेका थिए । पक्राउ पछि नै उनले मुम्बईमा चार ओटा कोठी सञ्चालन गदै आएको तथ्य बाहिरिएको थियो । यस अगाडी उनलाई जिल्ला अदालत नुवाकोटले ३७ वर्ष छ महिना कैद सजाँय र रु २ लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले २०७४ सालमा उक्त सजाय सुनाएको थियो ।

प्रहरीका अनुसार, तामाङले भारतमा चारवटा कोठी संचालन गर्दै आएको दावी गरेको थियो । भारतको नयाँदिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोना गार्छे–१५, कोलकाता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन् । उनको जेबीरोडस्थित कोठीमा ३५ जना, सोना गार्छेमा २७, कोलकातामा १५ र मुम्बईस्थित कोठीमा आठजना युवती छन् ।

पीडितको बयान अनुसार सबै कोठी उनकी श्रीमती राधा तामाङले सञ्चालन गर्दै आएको पनि प्रहरीको दावी छ । उच्च अदालत पाटनको आदेशसँगै डिल्लीबजार कारागारमा रहेका तामाङ रिहा भईसकेका छन् ।