जनता टाइम्स

३ असार २०७९, शुक्रबार १९:०८

‘प्रनेम’अमेरिकाको राष्ट्रिय अधिवेशन बोस्टनमा हुँदै


अमेरिका, ३ असार । अमेरिकामा रहेका प्रवासी नेपालीहरुको संगठन ‘प्रवासी नेपाली मञ्च, अमेरिका’ को राष्ट्रिय अधिवेशन अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टन शहरमा हुन गइरहेको छ । बोस्टन स्थित होटल म्यारियटमा यही जुन १७ देखि १९ सम्म सञ्चालन हुन गइरहेको तीन दिने राष्ट्रिय अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न आवश्यक तयारी पुरा भएको आयोजकले जनाएको छ ।

‘सवल प्रवासी, समृद्ध नेपाली’ भन्ने मुल नाराका साथ आयोजित मञ्चको तेश्रो अधिवेशनमा भाग लिनका लागि अतिथिहरु तथा प्रतिनिधिहरु बोस्टन आउनेक्रम जारी छ । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटिका सदस्य, विदेश विभाग प्रमुख यवं प्रवास इन्चार्ज तथा परराष्ट्र विज्ञ डा. राजन भट्टराई र विशेष अतिथिद्वय नेकपा (एमाले) संसदीय दलका सचेतक एवं सांसद शान्ता चौधरी र पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डे बोस्टनमा आइपुगिसक्नुभएको मञ्चका सचिव कृष्ण लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन दिने अधिवेशनलाई मुख्य गरी स्वागत तथा उद्घाटन सत्र, बन्द सत्र, निर्वाचन सत्र तथा समापन सत्रको ढाँचामा कार्यक्रम तालिका तय गरिएको छ । जस अनुसार स्वागत तथा उद्घाटन सत्रमा प्रमुख अतिथि तथा अतिथिहरुलाई स्वागत गर्नुका साथै मनोरञ्जनात्मक विविध साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ ।

बन्द सत्रमा मञ्चका आर्थिक तथा साँगठानिक गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरिने, त्यस उपर छलफल गरिने र पारित गरिनेछ । निर्वाचन कार्यक्रम तालिका अनुसार आगामी कार्यकालका लागि प्रजातान्त्रिक अभ्यासबाट नयाँ नेतृत्व चयन गर्ने र नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पदै अधिवेशनको समापन गरिने कार्यक्रम तालिका रहेको सचिव लामिछानेले प्रस्ट्याउनुभयो । आयोजकका अनुसार अधिवेशनमा अमेरिकाको २४ राज्यहरुबाट १६३ जना प्रतिनिधिहरुले भाग लिँदैछन् ।

मञ्चको विधान अनुसार प्रत्यक तीन वर्षमा अधिवेशन मार्फत नयाँ कार्यसमिति चयन गर्नुपर्ने भएतापनि विविध कारणले समयमा गर्न नसकिएको मञ्चका अध्यक्ष प्रभु थापाले बताउनुभयो । सन् २०१२ मा स्थापना भएको मञ्चले दोश्रो अधिवेशन सन् २०१७ मा सम्पन्न गरेको थियो । विधानतः तेश्रो अधिवेशन सन् २०२२ मा सम्पन्न गर्नु पर्ने थियो ।

तर, कोरोना कहरसंगै अन्य विविध कारणले समयमा अधिवेशन गर्न नसकिएकोप्रति दुःख प्रकट गर्दै अध्यक्ष थापाले पाँच वर्षपछि हुन गइरहेको संस्थागत यस कुम्भ मेलामा सक्रिय सहभागिता जनाइ अधिवेशनलाई सफल बनाउन आवश्यक भूमिका निर्वाह गरिदिन सबैलाई अनुरोध गर्नुभएको छ ।

थापाले भन्नुभयो,‘अधिवेशनको सम्पूर्ण तयारी पूरा भैसकेको छ । कार्य विभाजन अनुसार साथीहरुले सम्पूर्ण तयारी पूरा गरिसक्नु भएको छ। अतिथि, प्रतिनिधि, पत्रकार, परिवेक्षक तथा शुभचिन्तकहरुलाई कार्यक्रममा सहभागिताका लागि निम्तो पुगिसकेको छ । कार्यक्रम स्थलमा पुग्ने क्रम सुरु भइसकेको छ । सबैलाई स्वागत गर्न हामी आतुर छौं । कार्यक्रममा सहभागी भइ कार्यक्रम सफल बनाइदिन हुन सबैलाई अनुरोध गर्दछु ।’

आन्तरिक विधानलाई संसोधन गरेर दुइ वर्षे कार्यकाल बनाएको मञ्चले, आगामी दुइ वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्न आन्तरिक रुपमा आवश्यक तयारी समेत थालिसकेको छ। सर्वसम्मत हुन नसकेको खण्डमा प्रजातान्त्रिक अभ्यासबाट निर्वाचन गरेर नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।