जनता टाइम्स

८ असार २०७९, बुधबार १८:३०

राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएको सहयोग


काठमाडौं, ८ असार । गैरआवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेको छ । आज गैरआवासीय संघको सचिवालयमा आयोजित कार्यक्रममा केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपैयाँको चेक हस्तान्तण गरेको हो । चेक गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनलाई हस्तान्तण गर्नुभयो ।

संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले विश्वभरका नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी गराउनुभयो । डा. महावीर पुनले संघले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो । विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकोले त्यसको ५ प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने र रोजगारीको सिर्जना हुने बताउनुभयो ।

उहाँले यस्ता आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई प्रदेशमा, पालिकामा नै खोलिनु पर्नेमा जोड दिनुभयो । त्यस्तै गैरआवासीय नेपाली संघले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लाटफर्म दिन सक्ने जनायो । अध्यक्ष आचार्यले विभिन्न अभियन्ताहरुबाट प्रतिबद्धता गरिएको रकममध्ये संघको खातामा जम्मा भएको रकम हस्तान्तरण गरिएको जनाउनुभयो ।

त्यस्तै, विदेशमा सिकेको ज्ञान, सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको ठहर गर्दै संघले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा विभिन्न मुलुकबाट आउनुभएका आइसिसि तथा एनसिसिका प्रतिनिधिहरु, गैरआवासीय नेपालीहरु लगायत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।