जनता टाइम्स

३ श्रावण २०७६, शुक्रबार ०८:०३

भ्रष्टाचारको मुद्दा लागेपछि ‘आत्महत्या’


काठमाडौं, साउन ३ । त्रिभुवन विश्वविद्यालयको कर्मचारी भर्नामा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर खेपिरहेका परीक्षा नियन्त्रण कार्यालयका पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले आत्महत्या गरेका छन । त्रिपुरेश्वरस्थित राधा भवनको ६ तलाबाट हामफालेर उनले आत्महत्या गरेका हुन ।

प्रहरीका अनुसार त्रिपुरेश्वरस्थित राधा भवनबाट परिसरमा बिहीबार दिउँसो उनी मृत भेटिएका थिए । भ्रष्टाचार मुद्दाकै विषयमा वकिललाई भेट्न गएका उनले वकिलकै कार्यालयबाट हाम फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । पाण्डेको मृत्युको कारणबारे अनुसन्धान भइरहेको काठमाडौं परिसरका एसएसपी उत्तमराज सुवेदीले बताउनुभयो ।

आफन्तलाई भर्ना गर्न उत्तरपुस्तिकाको नम्बर पटक(पटक हेरफेर गरेको आरोपमा उनीसहित पनिकाका १० अधिकारीविरुद्ध गत १८ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोही बिषयमा उनी वकिलसँग कुराकानी गर्न गएका थिए ।