जनता टाइम्स

३ श्रावण २०७६, शुक्रबार १९:१२

जापान लैजान लागेको करोडौं मुल्यको आइस ड्रगसहित पोर्चुगिज नागरिक पक्राउ


काठमाडौं, साउन ३ । जापान लैजान लागेको अवस्थामा प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साढे ४ किलो आइस ड्रग्ससहित एक पोर्चुगिज नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट भारतको नयाँ दिल्लीहुँदै जापान हिँडेका पोर्चूगिज नागरिक मेन्डिज पेरिरा टिआगोलाई प्रहरीले विमानस्थलको चेकजाँच कक्षबाट ड्रगसहित पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो साढे १ बजे इन्डियन एयरबाट दिल्ली हुँदै जापान जान लागेका पोर्चुगिज नागरिक राहदानी नं ७२०१२९२ बाहक २५ वर्षीय टिआगोको साथबाट प्रहरीले ४ किलो ३८० ग्राम आइस ड्रग्ससमेत बरामद भएको छ । पोचुगिजले मोबाइल, पर्स र मोबाइल कभरका बट्टामा फल्स बटन बनाई सो परिणामको आइस एम्फेटामाइन नामक ड्रग्स लैजान लागेको अवस्थामा होल्ड ब्यागेज चेकिङ एक्सरेमा चेकजाँचको क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय नेपालमा आइस ड्रग्स बनाउनसमूह सक्रिय रहेको भन्दै प्रहरीले अनुसन्धान अघि बढाइरहेको बेला आज बिमानस्थलमा आइस ड्रग बरामद भएको हो । प्रहरीका अनुसार अन्तराष्ट्रिय बजारमा करोडौं मूल्य पर्ने ड्रग्स मेन्डिजले अभियुक्तले कहाँबाट लिए भन्ने बिषयमा अनुसन्धान भइरहेको छ । अबैध लागू औषध नियन्त्रमा प्रहरीले बिशेष अभियान चलाएपछि लागू औषध ब्यापारीहरुले आइस ड्रग बनाउन थालेको प्रहरीको बुझाइ रहेको छ ।